५० करोडको जग्गा ‘किर्ते नागरिकता’ बनाएर ठगी गर्ने केवलप्रताप राणा काठमाण्डौबाट पक्राउ
Monday, October 12th, 2020, 6:26 pm
amit
काठमाण्डौ, २६ असोज । नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरेर ५० करोड मूल्य पर्ने जग्गा ठगी गर्ने केवलप्रताप जंगबहादुर राणालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)बाट खटिएको टोलीले ललितपुर महानगर–१३ कुसुन्ती घर भएका ३३ वर्षीय राणालाई रातोपुलबाट नियन्त्रणमा लिएको हो।
२०७६ फागुन ११ मा पर्साको बीरगञ्ज महानगर–५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको ५ कठ्ठा, पन्ध्र धुर र नौ कन्वामा बनेको घर सहितको जग्गा मालपोतका कर्मचारीसँग मिलेर मुकेश राजभण्डारीको नाममा सो जग्गा राजीनामा पास गरेको बताइएको छ ।
केवल प्रताप जंगबहादुर राणाले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मुकेश राजभण्डारीको नाम राखेर ‘४७७३’ नम्बरको नागरिकता बनाएर ‘कमलादेवी राजभण्डारीको छोरो हुँ, अरु हकवाला छैनन्’ भनेर जग्गा पास गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ।
ललितपुर महानगर–३ ठेगाना र ५० वर्ष उमेर कायम गरेर नागरिकताको प्रमाण–पत्र बनाएको देखिएको हुनाले ठगी मुद्धामा थप अनुसन्धानका लागी राणालाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ।
प्रहरीका अनुसार वास्तविक उमेर ३३ वर्ष भएपनि केवल प्रतापले कसरी ५० वर्ष उमेर कायम गरेर नागरिकता लिए भन्नेबारे अनुसन्धान भइरहेको छ भने सक्कली परिचय लुकाएर नक्कली नाममा जग्गा राजीनामा पास गराएपछि उनले सो जग्गा बीरगञ्ज–४ बस्ने गिरधारीलाल अग्रवाललाई बिक्री गर्न ५० लाख बैना लिएका थिए । सो कुरा थाहा पाएपछि जग्गाका हकवाला राजिव राजभण्डारीले केन्द्रीय अनुसन्धान ब्युरोमा मुकेश बिरुद्ध उजुर दिएको प्रहरीले जनाएको छ।
अनुसन्धान गर्दै जाँदा केवल प्रतापले नक्कली नाम राखेर जग्गा ठगी गरेको खुलेको हुनाले उनीबिरुद्ध ठगी र नागरिकता किर्ते गरेको कसुरमा मुद्धा चल्ने केन्द्रिय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।
२०७० कार्तिक ३ मा क्रेडिटकार्ड फ्रड गरेको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरमा केवलप्रतापविरुद्ध मुद्धा दर्ता भएको थियो भने २०७३ चैत ७ मा बैंकिङ कसुर मुद्धामा काठमाण्डौ प्रहरीले उनीबिरुद्ध मुद्दा चलाएको थियो।
त्यस्तै २०७६ जेठ १७ मा फेरि महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठगी मुद्धामा उनलाई थुनामा राखेर मुद्धा चलाएको ‘अपराध रेकर्ड’ देखिएको छ।