चितवनका दुई युवाले बनाए विनाइन्धन चल्ने ‘सोलार कार’ !
Tuesday, October 13th, 2020, 12:24 pm
amit
२७ असोज, चितवन । चितवन भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका सफल र कुशल पौडेल दाजुभाइले सोलारबाट चल्ने कार बनाएका छन् ।
मोटर इन्जिन राखेर गल्फ कार बनाएको सफलतासँगै फेरि लकडाउनको समयलाई सदुपयोग गर्दै सफल र कुशलले सोलारबाट चल्ने कार बनाएका हुन् ।
१ महिनाको अवधिमा उनीहरुले ४ पाँग्रे कार बनाए । पौडेल दाजुभाइले बनाएको कार ५० किलोमिटर प्रति घण्टा गुड्न सक्छ । सोलार प्यानल जोडेर बनाएको कारको उनीहरुले सफल परिक्षणसमेत गरेका छन् ।
विना इन्जिनको नेप्रो प्रोजेक्टमा उनीहरुले ३ लाख लगानी गरेका छन् । इन्धन खरिदमा बर्सेनि देशबाट मोटो रकम विदेसिँदै आएकोले यसलाई रोक्न र देशमा नै सौर्य ऊर्जाको उपयोग गरी सवारी चलाउन सकिन्छ भनेर यो कार तयार गरेको कुशलले भने ।
विनाइन्धन उज्यालो नेपाल आफूहरुको लक्ष्य भएको उनले सुनाए । विनापेट्रोल, विनाविजुली चल्ने कारको विषेशता रहेको पौडेलको भनाइ छ ।
कारमा ४ वटा सोलार प्यानल जडान गरिएका छन् । प्रत्येक प्यानल १ सय ५० वाट क्षमताका छन् । डी.सी. मोटरको प्रयोग गरेर ४८ भोल्ट अर्थात् १ हजार वाट मोटर प्रयोग गरी कार तयार भएको छ ।
कार दिउँसोमा घाम लागेको बेला सोलारबाट चल्छ, रोकेको बेला सौर्य उर्जा सञ्चित भई रातको समयमा पनि चल्छ । सरकारले सहयोग गरेमात्र युवाको ‘फ्रेस ब्रेन’ लाइ ‘ब्रेन ड्रेन’ हुनबाट बचाउने सफल पौडेलले बताए ।
उनीहरुले केही समय अगाडि १ पल्सर मोटरसाइकलको इन्जिन प्रयोग गरी गल्फ कार निर्माण गरेका थिए । जसमा बत्ती, हर्नको लागि सोलार जडान गरिएको थियो । मारुती भ्यान र अटोरिक्साको चक्का राखेर निर्माण गरिएको गल्फ कारबाट उनीहरु चर्चित भएका थिए ।