कोरोना भाइरस २८ दिनसम्म जीवित रहने र संक्रमण गर्नसक्ने नयाँ तथ्य पत्ता लाग्यो
Tuesday, October 13th, 2020, 1:02 pm
amit
काठमाडौं, २७ असोज । कोरोना भाएरस विभिन्न वस्तु तथा सतहमा झण्डै एक महिनासम्म बाँच्न र संक्रमण गर्नसक्ने अनुसन्धानबाट फेला परेको छ । अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले हालै गरेको अनुसन्धानले कोरोना भाइरस बैंक नोट, फोनको स्क्रिन तथा स्टेनलेस स्टिलमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य फेला पारेको हो ।
यसअघि गरिएको अनुसन्धानले नोट तथा ग्लासमा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्नसक्ने भनिएको थियो । यसैगरी प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म मात्र बाँच्नसक्ने भनिएको थियो । तर नयाँ अनुसन्धानले थप सचेत र सतर्क रहनुपर्ने देखाएको छ ।
कोभिड सार्स–२ नाम दिइएको यो भाइरस सोचेभन्दा निकै लामो समयसम्म जीवित रहने तथ्य फेला परेको अनुसन्धानकर्ताहरुले बताएका छन् । मुख्य रुपमा कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा अर्को व्यक्तिमा सर्ने गर्दछ ।
साथै हावामा तैरिएका संक्रमित व्यक्तिका छिटाबाट पनि भाइरस संक्रमण हुन सक्ने तथ्य फेला परेको छ । यसै गरी संक्रमित व्यक्तिले छोएको प्लास्टिक तथा फलामका वस्तु अर्को व्यक्तिले छुँदा पनि संक्रमण फैलिने सम्भावना रहेको बताइएको छ ।