जिल्ला प्रशासन कार्यालय काठमाण्डौका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द
Tuesday, October 13th, 2020, 5:40 pm
amit
काठमाण्डौ, २७ असोज । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मंगलबार एक सूचना जारी गर्दै ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बुधबारदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ।
जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य बन्द गरिएको र नवीकरणसम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको बताएको छ।
प्रशासनका अनुसार शान्ति सूरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन्धी सेवा, विपद व्यवस्थापनसम्बन्धी सेवाहरु भने नियमित संचालन रहनेछ।
त्यस्तै अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्ने प्रशसानले जनाएको छ।