भक्तपुरमा एकै दिन ४ संक्रमितको मृत्यु
Tuesday, October 13th, 2020, 8:54 pm
amit
भक्तपुर, २७ असाेज । भक्तपुरमा मंगलबार एकै दिन ४ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
आरोग्य अस्पताल मध्यपुर थिमिमा एक जना, केएमसी अस्पतालमा एक जना, राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक र होम आइसोलेशनमा बसेका एक गरी ४ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
आरोग्य अस्पताल मध्यपुर थिमिमा उपचाररत दमका रोगी काठमाडौं स्वयम्भूका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशनमा बसेका भक्तपुर नगरपालिका–२ ब्यासीका ९० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ ।
श्वास–प्रश्वासमा समस्या देखिएपछि केएमसी अस्पतालमा उपचाररत भक्तपुर नगरपालिका–१० कमलविनायककी ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएको र आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारत मिर्गौला पीडित महोत्तरी पिपरा गाउँपालिका–५ का २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु प्रहरीले जनाएको छ ।