माधव नेपालको एक फोनले टार्यो कर्णालीको संकट
Wednesday, October 14th, 2020, 12:01 pm
amit
२८ असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव तत्कालका लागि रोकिएको छ । दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता माधवकुमार नेपाल पक्षका ८ जना सांसदले हस्ताक्षर फिर्ता लिन सहमत भएपछि कर्णालीमा उत्पन्न राजनीतिक गतिरोध तत्कालका लागि रोकिएको हो ।
नेपाल पक्षले नेकपा संसदीलय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीसँग सहमति गरेपछि असन्तुष्ट पक्षले मंगलबार दिउँसो १ बजेका लागि बोलाएको संसदीय दलको बैठकसमेत बसेनन् । नेपालले आफ्ना पक्षका सांसदलाई फोनमार्फत हस्ताक्षर फिर्ता लिन सुझाव दिएको बताइएको छ ।
१८ जना सांसदमध्ये सात जना बैठकमा अनुपस्थिति भएपछि अविश्वासको प्रस्ताव नै अल्पमत परेको हो । मुख्यमन्त्रीले सहमति गरेपछि सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन् ।
छलफल र सहमतिका माध्यमबाट तत्काललाई कर्णालीमा देखिएको राजनीतिक विवाद साम्य भएको नेकपा संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले जानकारी दिए । उनकाअनुसार प्रदेशको मन्त्रीमण्डल नै पुनर्गठन गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।
मुख्यमन्त्री शाहीविरुद्ध गत आइतबार यामलाल कँडेलसहितका १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । कर्णाली प्रदेशका प्रतिनिधित्व गर्ने ४० जना सांसदमध्ये ३३ जना नेकपाका सांसद छन् ।
यता, संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् ।