धादिङमा दसैं लक्षित गरी केही कार्यमा निषेधाज्ञा जारी
Wednesday, October 14th, 2020, 6:00 pm amit
काठमाण्डौ, २८ असोज । नेपालीहरुको महान चाँड दसैँलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय धादिङले थप केही कार्यमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि नै लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले केन्द्र सरकारले जिल्ला प्रशासनलाई दिएको अधिकारको प्रयोग गरी केही निषेधका कार्यक्रमहरू थप गरिएकोे जानकारी दिएका छन् । सहायक प्रमुख मल्लका अनुसार प्रशासनले यसअघि असोज ११ गतेसम्मको लागि जारी गरेको निषेधाज्ञालाई केही परिमार्जन सहित फेरि लागू गरिएको हो।
प्रशासनले दसैं लगायतका चाडपर्वमा मनाउँदा एकाघर परिवारमा बसिरहेका सदस्यबाहेक नाता, कुटुम्ब तथा छिमेकीहरू भेला नहुने गरी मनाउन भनेको छ । सार्वजनिक स्थान वा मन्दिरमा भिडभाड हुने गरी सामूहिक पूजा, अर्चना, प्रार्थना नगर्न पनि प्रशासनले जिल्लावासीसँग आग्रह गरेको छ।
सूचनामा उल्लेख भए अनुसार लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनको सम्बन्धमा भने केन्द्र सरकारको निर्णय बमोजिम हुनेछ भने पसल, व्यवसाय, यातायातका साधन सञ्चालन गर्दा व्यवसायीले मास्क, सेनिटाइजर, ग्लोब प्रयोग गरी सामाजिक दुरी कायम गर्नुपर्नेछ।
सरकारी कार्यालयहरुले दिने सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि टोकन वा आलो पालो प्रणाली अनुसार हुने बताइएको छ।