बलात्कार प्रयास गरेपछि धनकुटामा महिलाले एक पुरुषलाई खुकुरीले छप्काइन् !
Thursday, October 15th, 2020, 12:00 pm
amit
२९ असोज,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा महिलाले खुकुरी प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–१ की ३० वर्षीया गुरुङ थरकी महिलाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सोही स्थानका लिलबहादुर गुरुङलाई खुकुरी प्रहार गरेकी हुन् ।
उनको खु्कुरी प्रहारबाट लिलबहादुरको मृत्यु भएको छ । प्रहरीका अनुसार लिलबहादुरले बलात्कार गर्न खोजेपछि प्रतीकार गर्दै ती महिलाले खुकुरी प्रहार गरेकी हुन् ।
करिब डेढ वर्षका छोरासँग घरमा बस्दै आएकी महिलामाथि मंगलबार राति बलात्कारको प्रयास भएको थियो । ती महिलाकाे बयानअनुसार राति लिलबहादुरले ती महिलाको घरमा गई ढोका खोल्न भनेका थिए । तर ढोका नखोलेपछि जबर्जस्ती ठेलेर ढोका खोले महिलालाई बलात्कार गर्न खोजेका थिए ।
सोही क्रममा खुकुरीले हानेपछि लिलबहादुर भागेको ती महिलाले प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिए ।
रातिको घटनापछि बुधबार आफन्तले खोजी गर्दा लिलबहादुरको शव खोल्सीमा फेला परेको जनाइएको छ ।
मृत शव जिल्ला असपतालमा पोस्मार्टमका लागि राखिएको प्रहरी कार्यलय धनकुटाका एसपी अधिकारीले बताए ।
उनका अनुसार घटनामा संलगन महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।