बन्चरो प्रहार गरी साथीको हत्या, आठ घण्टाभित्रै अभियुक्त पक्राउ
Thursday, October 15th, 2020, 5:48 pm
amit
झापा, २९ असोज । झापा कनकाई नगरपालिका–३ को सुरुङा खोलाको डिलमारहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ वर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ।
कनकाई–३ स्थित बसोबास गर्ने चौधरी बुधबार बिहान ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव संकास्पद देखिएपछि गहन अनुसन्धान सुरु गरेको थियो।
घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डगसहितको टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न कनकाई ७ का २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई ८ घण्टाभित्रै पक्राउ गरी बिहीबार इलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको हो।
मृतक चौधरी र राजवंशी दुवै जना लुकिछिपी लागूऔषध सेवन गर्ने साथै लागूऔषध सेवनकै विषयमा उनीहरुबीच वादविवाद भएपछि मंगलबार राति चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजवंशीले पछाडिबाट बन्चरोले शरीरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा राखेर उनी फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ।
पक्राउ परेका राजवंशीले आफूले चौधरीको हत्या गरेको साबिति बयानसमेत दिएका छन् । साथै प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजवंशीको कपडासमेत बरामद गरेको छ । राजवंशीउपर इलाका प्रहरी कार्यलय अनारमनिबाट कानूनी कारबाही अगाडि बढाइएको छ।