कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्युत प्राधिकरण विराटनगरको सेवा बन्द
Friday, October 16th, 2020, 5:58 pm
amit
काठमाण्डौ, ३० असोज । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । केन्द्रमा कार्यरत कर्मचारीमध्ये ३० जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि अति आवश्यक बाहेकका सेवा बन्द गरिएको हो।
केन्द्रका अनुसार प्रशासन र प्राविधिकतर्फका कर्मचारी संक्रमित भएपछि फ्यूज शाखा बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको छ भने केन्द्रको महसुल काउण्टर शुक्रबारदेखि नै बन्द गरिएको छ।
अहिलेलाई अनलाइनबाट मात्रै महसुल बुझाउन सक्ने सुविधा दिइएको केन्द्रका प्रमुख राजीव सिंहले बताएका छन्।
गत बुधबार ५० जना कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शाखा प्रमुख सिंहका अनुसार महसुल काउण्टरमा बस्ने सबैजसो कर्मचारी संक्रमित भएको हो भने लेखा, स्टोर, प्रशासन र प्राविधिकतर्फका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको हो।
त्यस्तै नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले बिहीबार नै सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि कार्यालय सिल गर्ने जानकारी गराएको थियो।