परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् : देशमा अस्थिरता चाहने केही शक्तिहरु सल्बलाए
Monday, November 30th, 2020, 11:20 am
amit
तम्घास, १५ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा अस्थिरता चाहने केही शक्तिहरु सल्बलाएको बताएका छन् । गृह जिल्ला गुल्मीमा रहेका मन्त्री ज्ञवालीले सत्यवती गाउँपालिकाका विभिन्न कार्यक्रममा बोल्दै देशमा अस्थिरता चाहने केही शक्तिहरु सल्बलाएको बताएका हुन् ।
देशमा धेरै समयपछि राजनीतिक स्थायित्व र विकास देख्न नसक्ने शक्तिहरुले सरकार परिवर्तनको हल्ला मच्चाएको भन्दै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताए । वर्तमान सरकारले जनमुखी कामहरु गर्दै आएको दाबी गर्दै उनले केका लागि सरकार परिबर्तन भन्दै प्रश्न समेत गरे ।
राष्ट्रियताको पक्षमा दरिलो गरी उभिँदा, भ्रष्ट्राचार नियन्त्रण गर्दा, जनताको घरघरमा खानेपानीका धारा आउँदा, जनताका खरका छाना हटाई जस्तापाता लगाउँदा र जनमुखी कामहरु गर्दा सरकार परिवर्तन गर्नुपर्ने भन्दै हल्ला मच्चाउनेहरुको पछाडी नलाग्न उनले आग्रह गरे ।
पछिल्लो समय पार्टीमा देखिएको विवाद छलफल र बैठकको माध्यमबाट समाधान हुने उनले बताए । ठूलो परिवारमा कहिले काँही बिबादहरु सृजना हुने भन्दै उनले त्यी समस्याहरु छलफल र बैठकका माध्यमबाट समाधान हुने बताए ।