अमेरिकामा खुट्टामा जीपीएस लगाएका नेपालीको संख्या बढ्दो
Friday, January 27th, 2017, 9:47 am
amit
अमेरिका- बुटबलका विनोद मल्ल (नाम परिवर्तन) केही महिना अगाडि अमेरिका छिरे गैरकानुनी रुपमा मेक्सिकोको सिमा पार गरेर । उनी अमेरिका आइपुग्दासम्म झण्डै १ करोड रुपैया खर्च भइसकेको छ । उनले नेपालमा दलाललाई ३४ लाख नेपाली रुपैया बुझाए । हिडेर अमेरिका आउने क्रममा बाटोमा पकेट खर्च ३ लाख खर्च भयो भने अमेरिका आइसकेपछि उनी अमेरिकी सुरक्षा अधिकारीहरुबाट सिमाक्षेत्रमा समातिए । त्यसपछि अमेरिकी सरकारले धरौटी बापत ४३ हजार अमेरिकी डलर लियो । त्यसपछि उनी रिहा भए त्यो पनि खुट्टामा जीपीएस सहित ।
विनोदको खुट्टामा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको इन्टेसिभ सुपरभिजन एपियरेन्स प्रोगाम एण्ड इलेक्ट्रोनिक मनिटरिङ प्रोगाम अन्तरगत जीपीएस नेल झुण्डाइएको छ । जसबाट उनी कतिबेला कहाँ जान्छन् भन्ने ट्रयाकिङ हुने गर्छ । उनी भन्छन् —‘अमेरिकामा यसरी खुट्टामा नेलजस्तो जीपीएस लगाएर हिड्नुपर्ला भनेर सोंचेको थिइन । खुट्टामा जीपीएस लगाएर हिडडुल गर्दा, बस्दा, सुत्दा, नुहाउँदा निकै अप्ठ्यारो हुने गरेको छ । कपडा माथि सारेर बस्दा पनि लाजमर्दो अवस्था छ ।’
त्यस्तै हालै अमेरिका आईपुगेका पर्वतका हिमाल लम्सालको खुट्टामा पनि युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको जीपीएस रहेको छ । उनी न्युयोर्कबाहिर गए भने त्यसमा एकप्रकारको संकेत आउने गर्छ । र उनलाई न्युयोर्कभित्र नै फर्कन आदेश दिइन्छ । लम्साल भन्छन् —‘हामीलाई निश्चित क्षेत्रभित्रमात्र हिडडूल गर्न तोकिएको छ । त्यो क्षेत्रभन्दा बाहिर जानासाथ उनीहरु (युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट) ले थाहा पाइहाल्छ । त्यसैले जेलभित्र नभएपनि जेलमै रहेको अनुभव भएको छ ।’
विनोद र हिमाल मात्र होइन, अहिले खुट्टामा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको जीपीएस बोकेर हिड्ने नेपाली युवाहरु छ्याप्छ्याप्ती भेटिन्छन् । जीपीएस लगाउनुपर्दा उनीहरुमा एकप्रकारको त्रास र तनाव हुने गरेको छ । अधिकारीहरु बेलाबेलामा जीपीएस चेक गर्न आउने, बेलाबेलामा जीपीएस चार्ज गर्नुपर्ने, उनीहरुको तोकेको क्षेत्रभन्दा बाहिर जानासाथ चेतावनी संकेत प्राप्त हुने भएकाले जीपीएसबाट एकप्रकारको मानसिक तनाव सृजना हुने गरेको उनीहरु बताउँछन् । लम्साल भन्छन् —‘यो लगाउनुपर्दा निकै तनाव भएको छ । तर कम्तीमा जेलमा बस्नु परेको छैन । बाहिर निस्केर काम गर्न पाइएको छ । त्यसैमा सन्तोष मान्नुपरेको छ ।’
खुल्ला जेलको अवधारणा
अमेरिकी सरकारले सन् २००४ देखि खुल्ला जेलको अवधारणा अन्तरगत नै खुट्टामा जीपीएस लगाउने नियम ल्याएको हो । इमिग्रेशन जेलको तुलनामा पक्राउ पर्नेहरु कैयन गुणा बढी हुनेभएकाले इमिग्रेशन जेलको भार कम गर्न यो अवधारणा ल्याइएको हो । यही अवधारणा अन्तरगत खुट्टामा जीपीएस नेल लगाएर छाडिने नेपालीको संख्यामा केही समय यता उल्लेख्य बृद्धि भइरहेको छ ।
अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अन्तरगत रहेका डिटेन्सन सेन्टर अर्थात् जेलहरुको क्षमता झण्डै ३१ हजार रहेको छ । एकपटकमा ३१ हजार भन्दा धेरै व्यक्तिलाई अमेरिकाले अध्यगमन जेलहरुमा राख्न सक्दैन । तर अमेरिकी सरकार विभिन्न निकायले बर्षमा लाखौं व्यक्तिलाई नियन्त्रणमा लिने गर्छ । त्यसैले नियन्त्रणमा लिइएका व्यक्तिमध्ये कैयनलाई अमेरिकी सरकारले खुट्टामा जीपीएस लगाइदिएर खुल्ला जेलमा राख्दै आएको छ ।
गत आर्थिक बर्ष अर्थात् सन् २०१६ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकाका सिमाक्षेत्र र विमानस्थल लगायतका स्थानमा ५ लाख ३० हजार २ सय ५० जनालाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये अमेरिकी सिमा सुरक्षा बलले पक्राउ गरेकाहरु ४ लाख १५ हजार ८ सय १६ जना रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकमा उल्लेख छ । त्यस्तै सन् २०१६ मा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले पक्राउ गरेकाहरु १ लाख १४ हजार ४ सय ३४ जना रहेका थिए । यसरी पक्राउ परेकाहरुमध्ये कैयनलाई अमेरिकाबाट देशनिकाला गरिएको थियो भने कैयनलाई खुट्टामा जीपीएस नेल लगाएर छाडिएको छ । ती मध्ये ठूलो संख्यामा नेपालीहरु पनि छन् । तर नेपालीहरु कतिजनाको संख्यामा छन् भन्ने यकिन तथ्यांक भने उपलब्ध छैन ।
जीपीएसको पीडा
इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले सन् २००४ देखि यसरी अमेरिकामा आप्रवासीहरुलाई खुट्टामा जीपीएस नेल लगाएर छाड्ने गरेको छ । इन्टेसिभ सुपरभिजन एपियरेन्स प्रोगाम अर्थात् आईस्याप कार्यक्रमका लागि बीआई इन्कर्पोरेटेड नामको कम्पनीले सघाउदै आएको छ । यही ठेकेदार कम्पनीले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टलाई जीपीएस उपलब्ध गराउनेदेखि ट्याकिङमा सघाउनेसम्मको काम गर्दै आएको छ ।
न्युयोर्कका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठ भन्नुहुन्छ —‘यो एक प्रकारको खुल्ला जेल नै हो । निषेधाज्ञा लगाइएजस्तै यो लगाइएको व्यक्तिलाई घरबाट निस्कने, घर फर्कने वा अर्को राज्यमा जाने सवालमा एकप्रकारको निषेधाज्ञा लगाइएको हुन्छ । भनेको ठाउमा जान वा भनेको समयमा घरबाहिर जानआउन समेत पाउँदैनन् । त्यसैले यो एकदमै असजिलो भएको पीडितहरुको गुनासो छ ।’
खुट्टामा जीपीएस लगाइरहेका हिमालको गुनासो पनि यस्तै छ । उनी दुखेसो पोख्छन् —‘जेलमा त बस्नु परेको छैन । तर जेलमा बसेजस्तै भएको छ । न्युयोर्कमा बस्ने भनेर बयान दिइयो । अहिले जीपीएसका कारण न्युयोर्क बाहिर जान मिल्दैन । अब म न्युयोर्क छोडेर बाहिरको राज्यमा जान पनि सक्दिन । न्युयोर्कमा कोठा भाडा तिरेर, आठ घण्टा मात्रै काम गरेर मैले कहिले ऋण तिर्नु ?’
खुट्टामा लगाइने यो जीपीएस नेलबारे आफ्ना सेवाग्राहीहरुले गुनासो गर्दै आएको र कतिपय आफूले प्रतिनिधित्व गरेका मुद्दामा जीपीएस नेल फूकाइएको न्युयोर्कका अर्का चर्चित कानुन व्यवसायी बासु फूलाराको अनुभव छ । बासु फूलारा भन्नुहुन्छ —‘यो लगाउनेहरुले खुट्टा सुनिने लगायतका समस्या आउने गरेको बताउने गरेका छन् । अधिकारीहरुले कुनै समस्या परे नपरेको लगायतका विषयमा सर्वेक्षण त गरिरहेका हुन्छन् । तर पनि पीडितहरुले निकै गाह्रो भएको गुनासो गर्दै आएका छन् ।’
खुट्टामा जीपीएस नेल, लाखौंको ऋण र कानुनी प्रकृयाको झण्झटका कारण वाक्क भइसकेका सिन्धुलीका प्रकाश अर्यालले मलिन हुँदै भने —‘कुन सपना देखेर अमेरिका आएको थिएँ । अब अमेरिकामा कमैया भएर मर्ने भएँ । यसरी करोड सम्म लगानी गरेर आफ्नै देशमा केही गरेको भए परिवारसँग बस्न त पाइन्थ्यो । नेपालमा रहनुभएका कोही पनि यसरी करोड सम्म खर्च गरेर अमेरिका नआउनुस् । बरु दुईचारजना मिलेर त्यही रकमले नेपालमै केही गर्नुस् ।’
(खसोखासबाट)