इलाका प्रहरी कार्यालयको भवन उद्घाटन
Sunday, January 29th, 2017, 7:21 pm
amit
संगिन शर्मा
कोहलपुर- इलाका प्रहरी कार्यालय बैजापुर बाँकेको नव निर्मित भवनको उद्घाटन गरिएको छ । आईतबार एक कार्यक्रमका बिच मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद नेपालले नयाँ अत्याधुनिक भवनको उद्घाटन गरेका हुन ।
शान्ति तथा पुननिर्माण मन्त्रालय शान्ति कोषको आर्थिक सहयोगमा निर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक नेपालले भवन मात्रै राम्रो भएर नपुग्ने भएकाले तन, मन, बचनले जनतालाई सेवा प्रदान गर्न प्रहरीहरुलाई निर्देशन दिएका थिए ।
नयाँ भवनमा कार्यालय प्रमुखको कार्यकक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला प्रहरी ब्यारेक, प्रशासन शाखा, अपराध अनुसन्धान शाखाक लगायतका लागि छुटाछुटै कोठाहरु रहेका छन् । इलाका प्रहरी कार्यालय बैजापुरमा २३ जना प्रहरीको दरबन्दी भएपनी अहिले ११ जना मात्र कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले बर्दिधारी रक्षकका रुपमा खटिएका प्रहरीलाई हर तरहले सहयोग गर्न स्थानिय नागरिकसँग आग्रह गरेका थिए । उनले नव निर्मित प्रहरी भवन जनताकै सम्पत्ति भएकाले सबैले संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा बैजापुर १ का १ सय ७ बर्षिय बृद्व दलविर खङ्कालाई सम्मान समेत गरिएको थियो । मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नेपालले बृद्ध खड्कालाई खादा ओढाएर सम्मान गरेका थिए ।
भवन निर्माण भएसँगै बैजापुर र विनौनाका २० हजार भन्दा बढि नागरिकहरुले प्रत्यक्ष रुपमा लाभाम्बीत हुनेछन । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश प्रसाद काफ्ले स्थानीय बासिन्दा लगायतको उपस्थित रहेको थियो ।