बिरामीको संख्या घटेपछि भेरीले ओपीडी सेवा सुरु गर्दै, असार १ गते देखी सुरु हुदैंछ ओपीडी सेवा
Sunday, June 13th, 2021, 7:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० जेठ
कोभिडका बिरामीको उपचारमा उत्कृष्ट सेवा प्रदान गरिरहेको भेरी अस्पताल नेपालगन्जले असार १ गते (आगामी मंगलबार)देखी वहिरंग सेवा(ओपीडी) संचालन गर्ने तयारी गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरमा भेरीले बिरामीहरुको उपचारमा उत्कृष्ट सेवा प्रदान गरेको थियो ।
आइतबार भेरी अस्पतालले आफनो फेसबुक पेजमा आगामी मंगलबारदेखी ओपीडी सुरु गर्ने उल्लेख गरेको छ । महामारी नियन्त्रणका लागि लकडाउनलाई कार्यान्वयन गरिएपनि त्यो आफैंमा पुर्ण रणनिति हुन नसक्ने अस्पतालले जनाएको छ । रोग फैलिने क्रमको विश्लेषण, मानिसहरुको आवातजावतको निगरानी, नयाँ संक्रमितको भौगोलिक अवस्थाको आंकलन र रोग नियन्त्रणको निम्ति अवलम्बन गरिएका विविध प्रयासहरुलाई समयसापेक्ष मुल्याकन गरिनुपर्ने अस्पतालले जनाएको छ । कोभिड संक्रमणको रोकथामका लागि खोपको सर्वसुलभ उपलब्धता नै सबै भन्दा प्रभावकारी रणनीति भएको बताइएको छ ।
भेरी अस्पतालको कोरोना वार्डमा २ सय बेड छन । भेरी अस्पतालमा हाल ६८ जना कोरोनाका बिरामीले उपचार गराईरहेको अस्पतालले जनाएको छ । संक्रमितको संख्या घटेसँगै अस्पतालमा भर्ना हुन आउने बिरामीको संख्या घटर्दै गएकोले ओपीडी सेवा संचालन गर्ने तयारी गरिएको हो ।