एसियन भलिबलको तयारीमा जुट्दैं नेपाल, उपाध्यक्ष मास्के भन्छिनः व्यवस्थापनमा उत्कृष्ट गर्ने प्रयास गछौं
Sunday, June 13th, 2021, 8:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ३० जेठ
दक्षिण एसियामा बलियो टोलीका रुपमा छबी बनाएको नेपाली महिला भलिबल टोली एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा जुटेको छ । आगामी भदौंको १३ देखी २५ गते सम्म फिलिपिन्समा एसियन सिनियर महिला भलिबल सुरु हुदैंछ । जुन महिला भलिबल टोलीले खेल्न लागेको उच्च स्तरको अन्तराष्ट्रिय स्पर्धा हो । नेपालले खेल्न लागेको महत्वपुर्ण प्रतियोगिताका लागी असार १ देखी बन्द प्रशिक्षण सुरु गर्दैछ ।
नेपाली भलिबललाई एक थप उचाईमा पु¥याउने प्रतियोगिताको रुपमा एसियन भलिबललाई हेरिएको छ । व्यवस्थापनलाई बलियो बनाउने प्रयासमा लागेको बताउँछिन नेपाल भलिबल संघको उपाध्यक्ष एवम् प्रतियोगिता तयारी समिति संयोजक निरोज मास्के । त्यसका लागि संघले थालनी गरिसकेको छ ।
उनले भनिन,‘बन्द प्रशिक्षणमा सहभागि हुने केहि खेलाडीको पिसिआर परीक्षण भैसकेको छ । बाँकीको भोली सोमबार गर्ने तयारी छ । अन्य व्यवस्थापनको काम पनि सुरु भैसकेको छ । खेलाडीलाई बस्नका लागि होटलको व्यवस्था पनि आज भैसक्यो । कभर्ड हलमा आवश्यक सरससफाईको काम सकिन लागेको छ ।’उपाध्यक्ष निरोज मास्केले कोरोनाको प्रभावकै बिच प्रतियोगिताको तयारीका लागि जुटनु पर्ने अवस्था आएको बताइन । उपाध्यक्ष मास्केका अनुसार मंगलबारदेखी काठमाडौंमा सुरु हुने बन्द प्रशिक्षणको पहिलो चरणमा संघले गत चैतमा गरेको पाँचौ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसीप खेलेका खेलाडीलाई समावेश गरिने ।
प्रतियोगिताको तयारीका लागि नेपाली टोलीको प्रशिक्षणको जिम्मेवारी जगदिश भंट र अन्जु श्रेष्ठलाई दिएको छ । यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि स्थगित गरेको थियो ।मास्केले अहिलेसम्म पीसीआर गरेका सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको समेत जानकारी दिईन । बन्द प्रशिक्षणमा आर्मीका खेलाडीको संख्या बढी छ । आर्मीका सर्वाधिक ८, न्यु डायमण्ड, पुलिस र एपिएफ क्लबका समान ७ खेलाडी परेका छन । यसैगरी मोफसलबाट भरतपुर मेट्रोकी सरस्वती कंटेल पनि प्रशिक्षणमा सहभागी हुनेछिन ।