लकडाउन हिरो– १ ‘एम्बुलेन्स चालक भनेपछि सटर बन्द गरे’
Wednesday, June 16th, 2021, 6:00 pm Kalpristha
बिपी अस्तु नेपालगन्ज, २ असार
‘अस्ति भर्खर राप्तीपारी बिरामी लिएर जाँदा एउटा पसलमा एक बोत्तल पानी किन्न खोज्दा पुरै सटर नै झारिदिए । एम्बुलेन्सवाला भनेपछि टाढैबाट जा जा जा भन्दिए । कोरोना लागेपछि बोक्न पर्ने हामीले । तर एक बोत्तल पानी किन्न जाँदा सटर बन्द गर्नेसम्मको घटना म आफै भोगेको छु ।’ ‘कर्णाली चिसापानीमा भात खान लागेको एकजना पश्चिमको गुरुजीलाई लठ्ठि हानेर भगाको छ सुरक्षाकर्मीले । खान लाको थालै फाल्दिएको छ ।’ ‘जाजरकोटको जिल्ला अध्यक्षले भात खान लागेको होटलमा पुलिसले साहुलाई पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ ।’ ‘कति साथीहरुले काठमाडौं जाँदाखेरि अहिलेपनि घरबाटै खाना लिएर गइरहेको छन् । बाटोमा कहीँ एम्बुलेन्स चालकलाई खाना दिँदैन । यीनीहरुले कोरोना बोक्छन् रे, कोरोना सार्छन् रे भनेर त्यस्तो अवस्थाबाट हाम्रा साथीहरु गुज्रिएका छन् ।’
यी भनाईहरु भे १ च २३५६ नम्बरको एम्बुलेन्सका चालक राजिव गुप्ताका हुन् । उनी कोरोना महामारीमा दुवै लहरले अति प्रभावित गरेको नेपालगन्जमा संक्रमितहरुलाई समयमै अस्पताल पुर्याउने एम्बुलेन्स चालकहरुका अगुवा पनि हुन् । अगुवाको नाताले उनले यस क्षेत्रका एम्बुलेन्स चालकका धेरैजसो पीडाहरु महसुस गरेका छन् ।
राजिवको मोबाइलमा विगत एक वर्षमा जति कल आए ती उनले मोबाइल प्रयोग गर्नथाले यता आएका सबै कलभन्दा बढी थिए होलान् । उनको मोबाइलमा घण्टी बज्न कम भएको केही दिन मात्रै भएको छ । अहिलेपनि कतै एम्बुलेन्स नपाइएको अवस्थामा उनकै मोबाइलमा घण्टी बज्छ । राजिव करिब १५ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका छन् । उनी लियो क्लब अफ नेपालगन्जको एम्बुलेन्स चलाउने गर्छन् । उनको अनुभवमा विगत एक वर्ष यताको जस्तो दौडधुप त्यसभन्दा अघि कहिल्यै भएको थिएन ।
उनले यी दुई वर्षका अवधिमा सेवा गर्दा सन्तुष्टि, दुःख र तिरस्कार पनि महसुस गर्न पाए । नेपालगन्ज उप-महानगरपालिका-६ फुलटेक्रा घर भएका राजिवको श्रीमतिसहित ४ जनाको परिवार छ । उनी कोरोना महामारीको पहिलो लहरका बेला घर जानै पाएनन् । दोस्रो दुवै लहरका बेला पनि कमै मात्र घरमा बस्न पाए । कोरोनाको पहिलो लहरका बेला अधिकांश एम्बुलेन्स चालकहरु करिब चार महिना आइसोलेसनमै बसेका थिए ।
बाँके कोरोनाको दुवै लहरमा सबैभन्दा बढी प्रभावित जिल्लामा पर्छ । भारतीय सीमानाका भएको जिल्ला र लुम्बिनी, कर्णाली, सुदुरपश्चिम तीनै प्रदेशका बिरामीहरुको उचार केन्द्र पनि नेपालगन्ज भएकोले यहाँ संक्रमण अन्य जिल्लाभन्दा बढी थियो । महामारी नियन्त्रणका लागि चुनौतिपूणर् अवस्था रहेको बेला स्वास्थ्यकर्मी जस्तै सबैभन्दा बढी आवश्यकता एम्बुलेन्सको पनि थियो । त्यही कुरालाई मध्यनजर गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरम्वाङले राजिवलाई नेपालगन्जमा रहेका सबै एम्बुलेन्स चालकसँग समन्वय गरी चाँजोपाँजो मिलाउने जिम्मेवारी सुम्पिए । राजिव भन्छन्, ॅउहाँ सरले भन्नुभएको थियो । कुन एम्बुलेन्स खटाउने ? कसरी खटाउने? सबै तपाईँको हातमा हुन्छ । चाहिएको बेला एम्बुलेन्स उपलब्ध हुनुपर्यो ।’
संयुक्त एम्बुलेन्स चालक संघका लुम्बिनी प्रदेश अध्यक्ष रहेका गुप्तालाई सिडियोको त्यो आदेशपछि जिम्मेवारी बढेको महसुस भयो । उनले दिनमा कम्तिमा एउटा एम्बुलेन्स कोरोना संक्रमितका लागि तयारी अवस्थामा राख्ने चाँजोपाँजो मिलाए । नेपालगन्ज उपमहानगरपालिकाले बनाएका आइशोलेसन केन्द्र, अस्पताल वा सीमानाकामा एम्बुलेन्स तैनाथ गर्ने व्यवस्था गरे । नेपालगन्जमा रहेका करिब ३० वटा एम्बुलेन्सलाई कम्तिमा एक दिन कोरोना संक्रमित र संभावित कोरोना संक्रमितलाई बोक्नेगरी तयारी अवस्थामा राख्ने व्यवस्था गरे । नेपालगन्ज उप-महानगरपालिकासँग सल्लाह गरेर त्यसरी खटिने चालकलाई दिनको एक हजार रुपैयाँ भत्ता दिने निणर्य भयो ।
तर, त्यतिबेला अवस्था नै यस्तो थियो कि कतिपय उम्बुलेन्स चालकहरु बिरामी बोक्नै डराए । फोन गर्दा कति एम्बुलेन्स चालकहरुले बिरामी भएको भन्थे त कतिपयले मोबाइल नै स्वीचअफ गरेर बसिदिन्थे । उनले त्यस अवस्थालाई मध्यनजर गरेर दुईवटा एम्बुलेन्स जतिबेला पनि उपलब्ध हुनेगरी प्रबन्ध गरे । ‘एम्बुलेन्स नै उपलब्ध हुन नसक्ने अवस्थामा के गर्ने ? भनेर हामीले त्यो विशेष व्यवस्था गरेका थियौँ । उनीहरुलाई नगरपालिकाबाटै पिपिई, माक्स, स्यानिटाइजर लगायतका सुरक्षामा साधनहरु उपलब्ध गराएर अरु एम्बुलेन्स नपाइने अवस्थामा जसरी पनि उपलब्ध हुनेगरी मिलाएका थियौँ,’उनले भने ।
उनी आफैंले चलाउने गरेको एम्बुलेन्समा कोरोना संक्रमितहरुका लागि निःशुल्क सेवाको व्यवस्था लियो क्लबले गरेको थियो । एम्बुलेन्सलाई जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमै तैनाथ गरेर राख्ने गरिएको थियो ।
उक्त एम्बुलेन्सले नेपालगन्जसँगै खजुरा र कोहलपुरका संक्रमितलाई पनि निःशुल्क सेवा दिने गरेको थियो । अहिलेपनि समस्यामा परेका कोरोना संक्रमितलाई निःशुल्क सेवा दिने सुविधा जारी छ ।
उनको एम्बुलेन्समा अक्सिजनसहितको सुविधा छ । अक्सिजनसहितको सुविधाले पनि धेरै संक्रमितहरुलाई जोगाउन सकिएको उनी दावी गर्छन् । ‘त्यतिखेर अक्सिजन पाउनै गाह्रो भएको बेला पनि हामीले संस्थाबाट पहल गरेर लायन्स क्लबसँग मिलेर अक्सिजनको जम्बो सिलिण्डर किनेर राख्यौँ गाडिमा ।’
कोरोना संक्रमित बोकेर उनी अछामदेखि झापासम्म पुगे । कोरोना संक्रमित बोक्दा पनि पर्याप्त सावधानी अपनाएका कारण आफू संक्रमित हुनबाट जोगिएको उनले बताए । सुरक्षाका उपायहरु ठिक तरिकाले पालन गर्ने हो भने संक्रमणबाट बच्न सकिने उनको बुझाई छ । संस्थाले नै उनलाई ग्लभ्स, माक्स, स्यानीटाइजर जस्ता साधनहरु उपलब्ध गराएको थियो ।
अघिल्लो वर्ष संक्रमितको सेवामा खटिएका एम्बुलेन्स चालकहरुलाई जोखिम भत्ताको व्यवस्था गरिएको थियो । त्यसले पनि अधिकांश एम्बुलेन्स चालकहरुलाई हौसला मिलेको गुप्ता बताउँछन् । उक्त भत्ता पाउन पनि आठ नौ महिना कुर्नुपरेपछि र यसवर्ष भत्ता पाउने नपाउने यकिन नभएपछि धेरै कम चालकहरुले मात्र कोरोना संक्रमिकतको उद्धारमा खटिएको उनको बुझाई छ । अघिल्लो वर्षको ६ महिनाको जोखिम भत्ता एम्बुलेन्स चालकहरुले प्राप्त गरेको उनले बताए ।
कोरोनाको पछिल्लो लहरका बेला अवस्था यस्तो थियो कि समयमै अस्पताल पुर्याइएका बिरामीले पनि उपचार पाउन ढिलाई भयो । उनले एउटा घटना सम्झिए, ‘कचनापुरबाट बिरामी ल्याउँदाखेरी १२, १३ मा अक्सिजन चलिरहेको थियो । कोहलपुर मेडिकल कलेजमा लगेर गएको बिरामी झार्दै झारिदिएन । उहाँको भाग्य बलियो थियो र एम्बुलेन्समा अक्सिजन थियो । उहाँ दुई घण्टासम्म उम्बुलेन्समै पल्टिनुभयो । त्यसपछि बल्ल अस्पतालमा भर्ना हुन पाउनुभयो ।’
अस्पतालको ग्यालरीमै बिरामी रहेको अवस्थामा भर्ना गर भनेर भन्न सकिने अवस्था पनि थिएन । एम्बुलेन्समा छटपटाइरहेका बिरामीलाई बोकेर अस्पताल पुर्याउँदा पनि भर्ना गर्न नपाएर घण्टौ एम्बुलेन्समै राखेर पर्खिनुपरेको अनुभव उनलाई सम्झिँदा नमीठो लाग्छ । उनी भन्छन्, ॅहाम्रो एम्बुलेन्समा अक्सिजन भएर हुनुपर्छ । एम्बुलेन्समै कसैको ज्यान जान पाएन ।’
घण्टौसम्म पिपिई ड्रेसमा बस्दाको अनुभव पनि उनका लागि प्रिय छैन । ‘पिपिई ड्रेस लाएर यस्तो गर्मीमा, पुरै कपडा भिजेर एम्बुलेन्सभित्रै बसिराख्नुपर्ने अवस्था । कतिबेला बिरामी निकाल्छ थाहै हुँदैनथ्यो ।’ अक्सिजन नभएको अवस्थामा अक्सिजन उद्योगमा गएर अक्सिजन भरेर समेत उनले एम्बुलेन्समै धेरैको ज्यान बचाए । दिनमा पाँच छ जना बिरामीहरु बोकेको उनले बताए ।
कति दिन न उनले राति सुत्न पाए न दिनमा आराम गर्न पाए ।
यो दुःख महामारीमा खटिएका अधिकांश एम्बुलेन्स चालकहरुले गरेको दुःख हो । कोरोना महामारीमा स्वास्थ्यकर्मीजत्तिकै जोखिम मोलेर सेवामा खटिएका एम्बुलेन्स चालकहरुले समाजबाट भने तिरस्कार भोग्नुपरेको तीता अनुभव उनले सुनाए, ‘अस्ति भर्खर राप्तीपारी बिरामी लिएर जाँदा एउटा पसलमा एक बोत्तल पानी किन्न खोज्दा पुरै सटर नै झारिदिए । एम्बुलेन्सवाला भनेपछि टाढैबाट जा जा जा भन्दिए । कोरोना लागेपछि बोक्नैपनै हामीले । तर एक बोत्तल पानी किन्न जाँदा सटर बन्द गर्नेसम्मको घटना म आफै भोगेको छु ।’
समाजले मात्रै होइन राज्यले पनि चालकहरुको चित्त दुख्ने व्यवहार देखाएको दृष्टान्त उनले सम्झिए, ‘कर्णाली चिसापानीमा भात खान लागेको एकजना पश्चिमको गुरुजीलाई लठ्ठि हानेर भगाको छ सुरक्षाकर्मीले । खान लाको थालै फाल्दिएको छ । जाजरकोटको जिल्ला अध्यक्षले भात खान लाको होटलमा पुलिसले साहुलाई पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ ।’
एम्बुलेन्स चालकप्रति समाजको नकारात्मक व्यवहार अहिलेपनि जारी रहेको उनी बताउँछन् , ‘कति साथीहरुले काठमाडौं जाँदाखेरि अहिलेपनि घरबाटै खाना लिएर गइरहेको छन् । बाटोमा कहीँ एम्बुलेन्स चालकलाई खाना दिँदैन । यीनीहरुले कोरोना बोक्छन् रे, कोरोना सार्छन् रे भनेर । त्यस्तो अवस्थाबाट हाम्रा साथीहरु गुज्रिएका छन् ।’
स्थानीय सरकारहरु पनि एम्बुलेन्स चालकहरुको हौसला बढाउने काममा चुकेको उनको गुनासो छ । ‘दाङमा सबै एम्बुलेन्स चालकहरुलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइएको छ । यहाँ हामी आफैले आफ्नो व्यवस्था गर्नुपर्ने अवस्था छ । कति साथीहरुले सुरक्षाका साधनहरु पनि आफैं किन्नुपरेको छ,’ उनले भने । सुविधाका सम्बन्धमा यसवर्षभन्दा गतवर्ष राम्रो व्यवस्था रहेको गुप्ताको अनुभव छ । अरु सवारी साधन चालकजस्तो बाटोमा समय कुरेर खाना खाने सुविधा एम्बुलेन्स चालकहरुलाई नहुने भएकोले लामो दुरीका राजमार्गमा खानाका लागि कुनै विशेष ठाउँ बनाइदिनुपर्ने उनको माग छ । अहिले एम्बुलेन्स चालकहरुले समस्यामा परेका साथीहरु नै आफ्नो सन्जालबाट सम्पर्क गरेर सहयोग गर्ने गरिरहेको उनले बताए ।
समाजले पनि महामारीमा एम्बुलेन्स चालकहरुले गरेको सेवालाई महसुस गरिदिनुपर्ने गुप्ताको अनुरोध छ । ‘आफ्नो ज्यान जोखिममा राखेर खटिएका अन्य सेवकहरुजस्तै आफूहरुको भूमिका पनि राज्य र समाजले बुझिदेओस्,’ गुप्ताले भने ।