पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने मन्त्रालयको चेतावनी
Thursday, June 17th, 2021, 7:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ३ असार
बाढी पहिरोको जोखिम बढेसँगै पानीजन्य रोगहरुको खतरा पनि बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । बाढी पहिरोबाट पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने भएकोले सबैलाई सचेत रहन भन्दै मन्त्रालयले बिहीबार सूचना जारी गरेको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा बाढी पहिरोको जोखिम भएका बेला जनस्वास्थ्यका समस्याहरु बढ्न सक्ने भएकाले सजग रहन आग्रह गरिएको छ ।
‘बाढी पहिरोको जोखिमसँगै कोभिड-१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढन सक्नेतर्फ सबै सजग हुनु जरुरी देखिन्छ । उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड-१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरी पालना गर्न गराउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस वासको प्रबन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरूमा ध्यान दिन अनुरोध छ’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय र प्रदेशका सम्बन्धित निकायहरु मार्फत स्वास्थ्य आपतकालिन केन्द्रहरूले समन्वय गरिरहेको समेत विज्ञप्तीमा जनाइएको छ ।