चैत अन्तिम साता नेपालगन्ज उत्सवमय बन्ने
Sunday, January 29th, 2017, 11:33 pm
amit
नेपालगंज- वर्षको एकपटक एकै स्थानमा रंग, खेलकूद तथा साहित्यिक जमघट गराउने उद्देश्यसहित चैत अन्तिम साता नेपालगन्ज उत्सवमय बन्ने भएको छ ।
नेपालगंज फेस्टिवल विक नाम दिइएको साताव्यापी महोत्सवमा नेपालगन्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, नेपालगंज साहित्य महोत्सव, शारीरिक सुगठन प्रतियोगिता(मिस्टर नेपालगंज), नेपालगंज साईक्लिङ रेस र तस्बिर तथा चित्रकला प्रदर्शनी आयोजना गरिने आयोजक क्रियटिभ ह्याण्डस ग्रुपले जनाएको छ । उक्त उत्सव चैत २५ देखि ३१ गतेसम्म हुनेछ । ‘हरेक वर्षहरुमा केही न केही सन्देश दिएर जान्छन् ।
अनि, नयाँ वर्षहरु नयॉ उत्साह लिएर आउँछन्’ महोत्सव घोषणा गर्दै जारी वक्तव्यमा भनिएको छ– ‘त्यसैले वर्षको अन्त्य तथा नयाँ वर्षको आगमनलाई सम्झनायोग्य बनाउन नेपालगन्जवासीको एउटा सपनालाई साकार पार्ने प्रयत्नमा लागेका हौं ।’ महोत्सवलाई हरेक दृष्टिकोणले भव्य र नेपालगन्जलाई माया गर्ने देश–विदेश जहॉसुकै रहेका सबैको आफ्नै साझा महोत्सव बनाइने आयोजकले दाबी गरेका छन् । उक्त उत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा सघाउ पुग्ने, फिल्ममेकर, निर्देशक, लेखक तथा साहित्यकारको दर्शक–पाठक एवं समीक्षकसँग भेटघाट हुने र नयॉ उत्साह थपिने अपेक्षा गरिएको आयोजक ग्रुपका अध्यक्ष टंकसिंह ठकुरीले बताए ।
क्रियटिभ बुक्सका कथा संग्रह लगायत केहि नयाँ प्रकाशन तथा अन्य प्रतिष्ठित प्रकाशन गृहका नयाँ पुस्तकहरु पनि उक्त साहित्यिक महोत्सवमा बिमोचन गर्ने तयारी रहेको सहआयोजक क्रियटिभ बुक्सले जनाएको छ । नेपालगंज फेस्टिवल विकलाई सफल पार्न क्रियटिभ बुक्स, सेलिब्रिटी खबर अनलाइन पत्रिका, क्रियटिभ पिस भोलेनटियर्स क्लबलगायत जिल्लाका विभिन्न संघ संस्थाको सहकार्य एवं साझेदारी रहने बताइएको छ ।
महोत्सवलाई ऐतिहासिक एवं बृहत् बनाउन सम्बद्ध साहित्यिक संघ–संस्था, रंगकर्मी, फोटो क्लबहरु, फिल्ममेकर्स संघसंस्था, अग्रज तथा शुभचिन्तकहरुमा सहयोगको अपेक्षासहित साझेदारी तथा सहकार्यका लागि आव्हान समेत गरिएको उनले जनाए । महोत्सवमा आकर्षण थप्न यसअघि नै घोषणा भइसकेको ‘नेपालगन्ज म्याराथन स् शान्ति र सद्भाव’ फोटो स्टोरी प्रतियोगिताका उत्कृष्ट तस्बिर तथा मध्य–सुदूरपश्चिमका पर्या–पर्यटकीय तस्बिरहरुको प्रदर्शन गरिने भएको छ । साथै, नयॉ वर्षका उपहारका स्टलहरु पनि राखिने भएका छन् । ‘नेपालगन्ज महोत्सव नयॉ वर्षको स्वागत गर्दै सहभागीलाई उत्साह भर्दै सकिने छ’ अध्यक्ष ठकुरीले भने ।
नेपालगंज फिल्म फेस्टिवलको यो दोस्रो संस्करण हो । गत बर्ष सुरु गरिएको फिल्म फेस्टिवलमा नेपालका चार तथा दुइ बिदेशी फिल्म थिए । खेलकुद थिम समाबेश गरिएको गत संस्करणमा चर्चित खेलकुद डकुमेन्ट्री भोजराज भाटको ‘सुनकली’, गिरीस गिरीको ‘टिम नेपाल’, सुर्य थपलियाको बियोंड द बाउन्ड्री’, टीएस ठकुरी र जयनारायण शाहको ‘हरि बहादुर’ देखाइएको थियो । निर्देशकहरुलाई क्रियटिभ डकुमेन्ट्री मेकर अवार्डबाट सम्मानित पनि गरिएको थियो । नेपालगंजलाई अन्तराष्ट्रिय मंचमा चिनाउन पनि यसबर्षदेखि इन्टरनेसनल फेस्टिवल गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष ठकुरीले बताए।