नेपालगन्ज निवासी पहिलो दलित सांसद परियारको निधन
Friday, June 18th, 2021, 12:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ असार
नेपालका जननिर्वाचित पहिलो दलित सांसद कृष्णसिंह परियारको निधन भएको छ । बाँके निवासी नेपाली काँग्रेसका नेता एवं पूर्वसांसद परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान नेपालगन्ज-१२ स्थित आफ्नै निवासमा निधन भएको हो । परियार लामो समयदेखि मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । २०४८ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित भएका परियार निष्ठावान नेताका रूपमा चिनिन्छन् । प्रतिबन्धितकालमा उनले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए । उनी सांसद छँदा राज्य व्यवस्था समितिको सभापति समेत बनेका थिए । इमान्दार र निर्भिक नेताका रुपमा परिचित परियार नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका निकट थिए । परियारका एक श्रीमती, ती छोरी र चार छोरा छन् ।
नेपाली काँग्रेस बाँके शभापति किरण कोइरालाले फेसबुकमार्फत सांसद परियारको निधनप्रति गहिरो दुःख प्रकट गरेकी छन् । कोइरालाले भनेकी छन्, ‘विपीको प्रजातान्त्रिक समाजवाद प्रति प्रतिबद्ध नेता परियार पञ्चायती व्यवस्थाको विरुद्धमा संघर्ष गर्दा धेरै दुःख कष्ठ व्यहोर्दै जेल नेल खानु भएको थियो । जातीय विभेद विरुद्धका अग्रणी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा श्रद्धेय कृष्ण सिंह परियारज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’
शोक वक्तव्यमा नेता परियारको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेस बाँकेको कार्यालय नेपालगन्जमा दिउसो १२ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जली सभा राखिने कार्यक्रम रहेको जानकारी दिइएको छ । परियारको अन्तिम संस्कार नेपालगन्जस्थित सम्सानघाटमा गरिने भएको छ ।
