लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पुल भासियो
Sunday, June 27th, 2021, 9:50 am
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, १२ असार
नदीको कटानले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने कर्णाली नदीको सत्ती घाटको पुल भासिएको छ । कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाको सीमामा रहेको कर्णाली नदीको पुल भासिएको हो ।
पुलको राजापुरतर्फको भाग भासिएकोे छ । इलाका प्रहरी कार्यालय सत्तीका इञ्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दका अनुसार अनुसार नदीले पूर्वतर्फको भाग छेउबाट भासिन थालेपछि पुलमा आवागमन बन्द गरिएको छ ।
उक्त पुल हुलाकी राजमार्ग अन्र्तगत निर्माण भएको हो । पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो । पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो । विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए । पाँच वर्षअघि पुलको निर्माण रसुवा कन्स्ट्रक्सन प्रालिले समयावधि भन्दा झण्डै नौ महिना अगाडि निर्माण सम्पन्न गरेको थियो । पुलको उक्त क्षेत्रमा वर्षेनी कटान हुँदै आएको थियो । पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत सम्भार गर्दै आए पनि गत वर्षदेखि भासिएको भाग मर्मत हुन नसक्दा राजापुरतर्फको भाग भासिएर आवागमन अवरुद्ध भएको हो ।
दुई वर्ष अघिदेखि नै राजापुरतर्फको भागमा ठूलो प्वाल परेको थियो । समयमा मर्मत नहुँदा श्रीलंका, तोलीगाउँ समेत जोखिममा परेको स्थानीय श्याम चौधरीले बताए । कर्णाली चिसापानी पुल भन्दा तल कर्णाली नदीको बीचमा सयौंको संख्यामा टापुहरु रहेका छन् ।