डुडुवामा बालिका शिक्षा प्रोत्साहन-मुद्धति खातादेखि साइकलसम्मका योजना
Sunday, June 27th, 2021, 8:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, १३ असार
बाँकेको डुडुवा गाउँपालिकामा जनप्रतिनिधि पहिलोपल्ट चुनिएर आउँदा अनेक चुनौति थिए । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाहरु नपुगेको अवस्था एकातिर थियो भने अर्कोतिर समाजको मनोविज्ञान परिवर्तन गर्नु पनि जरुरी थियो । यही अवस्थालाई मध्यनजर गरेर गाउँपालिकाले आर्थिक वर्ष २०७६-७७ देखि एक उदाहरणीय योजना अघि सार्यो । त्यो योजना थियो कन्या मुद्धति शिक्षा योजना । २० वर्ष उमेर भएपछि मात्र विवाह गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा सघाउने र छोरीलाई पढाउनु आर्थिक बोझमात्रै ठान्ने सामाजिक मनोविज्ञान परिवर्तन गर्ने उदेश्यले सुरु गरिएको थियो उक्त योजना ।
यो योजना एक कोष हो । जसमा सहभागी हुन बालिकालाई सम्पूणर् खोप दिनुपर्ने, पाँच वर्ष पुग्नेबित्तिकै विद्यालय भर्ना गर्नुपर्ने, कम्तीमा एसईईसम्म अध्ययन गराउनुपर्ने र २० वर्ष नपुगेसम्म बिवाह गर्न गराउन नपाइने सर्तहरु छन् । योजनामा आवद्ध कन्याको प्राथमिक स्वास्थ्य उपचार निःशुल्क हुनेछ । साथै बालिकाले एसएलसीपछिको उच्च शिक्षा निःशुल्क पाउनेछन् ।
पहिलो वर्ष योजनामा समावेश हुन पाँच हजार बालिकाका अभिभावकले र पाँच हजार गाउँपालिकाले ब्यहोर्नुुपर्ने प्रावधान थियो । तर, अभिभावकले पैसा बुझाउनुपर्ने भएपछि सोचेअनुरुप सहभागिता नहुँदा चालु आर्थिक वर्ष २०७७-७८ देखि सबै रकम गाउँपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्थापछि योजनामा सहभागी हुनेहरुको संख्यामा वृद्धि भएको छ । गाउँपालिकाको शिक्षा शाखाका अनुसार उक्त योजनामा हालसम्म एक सय ६१ जना सहभागी भैसकेका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्जय कुमार कणर्का अनुसार २० वर्षसम्म मुद्दती खाता सन्चालन गर्दा झन्डै ७३ हजार रुपैयाँ जम्मा हुन आउँछ ।
एक तथ्यांकअनुसार डुडुवा गाउँपालिकामा पुरुष बालविवाह ८३.१६ प्रतिशत र महिला ५०.२२ प्रतिशत छ । गाउँपालिकाको कन्या मुद्दती शिक्षा कोषको व्यवस्था तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७६ मा अभिभावक वा कन्या स्वयंले २० वर्ष नपुग्दै विवाह गरे-गराएमा कोष निष्क्रिय हुने र रकम भुक्तानी नहुने व्यवस्था छ । यस योजनालाई गाउँपालिकाले शिक्षा क्षेत्रमा एक उदाहरणीय योजना भनेको छ ।
बालबालिकाको पढाईस्तर सुधार्न र विद्यालय शिक्षाप्रति जागरुक गराउन गाउँपालिकाले छात्रवृत्ति, निशुल्क पाठ्य पुस्तक, स्यानिटरी प्याड वितरण लगायतका कार्यक्रमहरुलाई प्राथमिकताकासाथ कार्यान्वयन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी बताउँछन् । ॅगाउँ शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिको सक्रियता र क्षमता वृद्धि गरी शैक्षिक योजना र नीति कार्यान्वयन र अनुगमन मूल्यांकनमा जोड दिएर गुणस्तरीय शिक्षा पाउने डुडुवाका सबै बालबालिकाको नैसर्गिक हकको कार्यान्वयन गरीनेछ,’ चौधरीले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भने । बालिकाहरुको उच्च शिक्षामा ध्यान आकृष्ठ गर्न र उनीहरुको सहजताका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ मा एसईई उत्तीणर् डुडुवा सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरिने कार्यक्रम तय गरेको छ ।
डुडुवाले हरेक वडामा कम्तिमा एकवटा माध्यमिक विद्यालय स्थापना गर्ने नीतिलाई सुरुदेखि नै प्राथमिकतामा राखेर आइरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए । डुडुवामा हाल वडा नम्बर पाँचमा २ र वडा नम्बर तीनमा १ गरि तीनवटा माध्यमिक तहका विद्यालयहरु सन्चालनमा छन् । बाँकी चारवटा वडामा माध्यमिक तहको विद्यालय छैन । यही अवस्थालाई मध्यनजर गरेर हरेक वडामा एउटा माध्यमिक विद्यालय बनाउने योजनालाई प्राथमिकतामा राखेर विद्यालयको स्तरोन्नतिमा सघाइरहेको उपाध्यायले बताए ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा अवधी भाषा र उर्दु भाषाको संरक्षण र संवद्र्धनको लागि मातृभाषाका शिक्षक र सहजकर्ता नियुक्त गर्ने योजना पनि अघि सारेको छ । यस्तै, स्थानीय पुस्ताकालय, वाचनालय, विज्ञान प्रयोगशाला र सामुदायिक सिकाई केन्द्रको स्थापना मार्फत स्थानीय ज्ञान, सीप र प्रविधिको संरक्षणमा जोड दिइने, प्राविधिक र व्यावसायिक विद्यालयको स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । हाल गाउँपालिकाको ज्ञानदीप मावि डलैपुरमा इलेक्ट्रिकल इन्जिनियरिङको पढाई भइरहेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८-८९ मा कोरोना महामारीको संकटकालिन अवस्थालाई ध्यानमा राखेर विद्यालयमा वैकल्पीक तथा दूर शिक्षाका माध्यमबाट सिकाई क्रियाकलाप अगाडी बढाईने जनाएको छ ।