बाँके प्रहरीको एक वर्षे उपलब्धि
Sunday, June 27th, 2021, 8:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ असार
जिल्ला प्रहरी कार्यालय बाँकेले विगत एक वर्षको अवधिमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको जनाएको छ । प्रहरी प्रमुखको रुपमा एसपी ओमबहादुर रानाले पदभार ग्रहण गरेको एक वर्षको अवधिमा प्रहरीले जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, कोभिड व्यवस्थापनलगायतका कामहरुमा उल्लेखनिय उपलब्धि हासिल गरेको जनाएको हो ।
प्रहरीले एक वर्षको अवधिमा विभिन्न अपराधिक गतिविधिमा संलग्न भई वर्षौदेखि फरार रहेका ६ सय दुईजना अभियुक्तहरुलाई पक्राउ गरेको तथ्यांक सार्वजनिक छ । जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कूल सात सय ७५ मुद्दामा विभिन्न अपराधमा संलग्न (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दी गर्ने) एक हजार एक सय ३५ जनालाई पक्राउ गरेको छ ।
त्यसैगरी गत एक वर्षमा बाँकेमा ॅमोस्ट वान्टेड’ सूचीमा रहेका अपराधीसहित अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका चार सय ७० जना, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ जना र प्रहरीमा मुद्दा दर्ता रही लामो समयदेखि फरार रहेका ८५ जना गरी कूल ६ सय दुईजना पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । साथै फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपैयाँ असुल, अन्य विभिन्न जरिवाना र कारबाहीबाट पाँच करोड ४८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन तथा पाँच करोडभन्दा बढीको ढुंगा बालुवा गिट्टी सिजसमेत गरिएको प्रहरीले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
साथै प्रहरीले अपहरण गरेर हत्या गर्ने तीनजना मोस्ट वान्टेड, सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जना, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजना र नौ जनालाई आठवटा अवैध हातहतियारसहित पक्राउ, राष्ट्रिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न सातजनालाई पनि पक्राउ गरेर कारवाही अगाडी बढाइएको जनाएको छ ।
जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, पाँच सय ६० वटा साइकल, २८ वटा ई रिक्सा, दुई बोलेरो भ्यान र तीन ट्रकसहित एक सय ९३ जनालाई पक्राउ गरेर दुई करोड नौ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।
लागूऔषधसम्बन्धी विशेष अभियान संचालनबाट पाँच सय ६८ ग्राम भन्दा बढी ब्राउन सुगर, ३४ किलो भन्दा बढी अफिम, २० किलो भन्दा बढी चरेस, ६८ किलो भन्दा बढी गाँजा र ३६ लिटर भन्दा बढी कोरेक्ससहित एक सय ८२ जनालाई पक्राउ गरेको छ ।
यस्तै कोरोना व्यवस्थापनमा एक वर्षको अवधीमा ३४ वटा आइसोलेसनको व्यवस्थापन, दुईवटा होल्डिंग सेन्टरको व्यवस्थापन, अस्पताल र अक्सिजन प्लान्टको विशेष सुरक्षा, जिल्लाका ८१ वटा वडामा ॅखोई मास्क’ अभियान संचालन गरेर १० हजार भन्दा बढी मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, गुण्डागर्दी गर्ने १६ जनालाई कारबाही, रातको समयमा होहल्ला गरी हिड्ने चार सय ४५ जनालाई कारबाही, चोरी भएका आठवटा मोटरसाइकल र ५५ वटा मोबाइल फोन खोजतलाश गरी सम्बन्धित व्यक्तिलाई बुझाइएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही अवधीमा ४३ जनाको भारतबाट उद्धार, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र, बालविवाह रोकथाम र छाडा चौपायाको व्यवस्थापनमा पनि बाँके प्रहरीले उल्लेखनिय काम गरेको छ । साथै जुवा तास नियन्त्रणका साथै प्रहरीका लागि भवन निर्माण तथा सवारी साधन उपलब्ध गराउन बाँके प्रहरी एवम् प्रहरी प्रमुख कमाण्ड सम्हालेका रानाले उल्लेख्य कार्य गरेका छन् ।
यसैबीच, आइतबार बाँके प्रहरीले अदालतबाट ८ दिन कैद र एघार लाख पच्चिस हजार रुपैयाँ जरिवाना सुनाइएका एकजना फरार अपराधिलाई पक्राउ गरेको छ । कैलालीको टिकापुर घर भई हाल नेपालगन्ज-१८ कारकादो बस्ने ३५ वर्षका महेन्द्र लोहारलाई पक्राउ गरेको हो ।