कोहलपुर नगरपालिकामा तालाबन्दी
Sunday, June 27th, 2021, 8:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३
कोहलपुर नगरपालिकामा आइतबार तालाबन्दी गरिएको छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली र लेखा शाखाको कोठामा नेपाली कांग्रेस कोहलपुरले तालबन्दी गरेको हो ।
केही जनप्रतिनिधि र कर्मचारीहरुले राज चलाउँदै ब्रह्मलुट मच्चाउन थालेपछि तालाबन्दी गरिएको नगर सचिव भुम भण्डारीले जनाएका छन् । जनप्रतिनिधि र कर्मचारीकै कारण नगरपालिकामा भ्रष्टाचार मौलाएको उनको आरोप छ ।
नेपाली कांग्रेसले निकालेको प्रेस विज्ञप्तिमा विभिन्न १२ वटा मागहरु रहेका छन् । जसमा आर्थिक अनिमियता अन्त्य हुनुपर्ने, भ्रष्ट्राचार अन्य क्रियाकलाप बन्द, हरेक योजनामा हुने कमिशन बन्द, नियमित सुशासनका कार्यक्रम संचालन, सार्वजनिक सुनुवाई नियमित गरिनुपर्ने लगायतका मागहरु रहेका छन् ।
यसअघि नगरपालिकाले एक पक्षीयरुपमा बजेट पारित गरेको आरोपमा विवाद सुरु भएको हो । नगरपालिकाभित्र भ्रष्टाचार मौलाएको, एमालेले एक पक्षीयरुपमा आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम ल्याएको भन्दै कांग्रेस र माओवादीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष र सदस्यहरुले नगर सभा बहिष्कार गरेका थिए । सभा बहिष्कारपछि नेकपा एमालेबाट निर्वाचित सदस्यले बजेट पारित गरेपछि विवादले उत्कर्ष रुप लिँदै गएको हो ।
एक अर्ब १७ करोड ३५ लाखको बजेट नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले बजेट पारित गरेको मेयर लुटबहादुर रावतले बताए । उक्त बजेटप्रति काँग्रेस र माओवादीबाट उपमेयर, वडाध्यक्ष र सदस्यहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले नगरपालिकामा भइरहेको भ्रष्टाचार रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रहसमेत गरेको नेपाली कांग्रेसले जनाएको छ ।
यसअघि पनि कोहलपुर नगरपालिकामा भ्रष्टाचार भएका समाचारहरु आइरहेका छन् । नेपाली कांग्रेसले नगरपालिकाको बदमासीविरुद्ध एकजुट हुनपनि आग्रह गरेको छ । यद्यपी मेयर लुटबहादुर रावतले नीतिसम्मतरुपमा बजेट ल्याइएको र नगरसभासमेत समपन्न भइसकेको बताएका छन् ।