वैकल्पिक शिक्षण प्रणालीमा खजुराको जोड
Sunday, June 27th, 2021, 8:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १३ असार
खजुरा गाउँपालिकामा सामुदायिक तथा संस्थागत र मदरसा शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना संचार प्रविधि सम्बन्धि क्षमता विकास प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरिएको छ । शिक्षा शाखाले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्न एक हप्ते तालिम खजुरा क्षेत्रका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकलाई प्रदान गरिने जनाएको छ । आइतबार विभिन्न तीन ठाउँमा आयोजना गरिएका तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख तथा शिक्षा समितिका संयोजक किस्मत कुमार कक्षपतिले आइसिटी विधिबाट पठनपाठन गर्नका लागि निर्वाचित भएलगतै कार्यपालिकाको पहिलो बैठकले निणर्य गरेर शुरु गरेको उल्लेख गरे । अध्यक्ष कक्षपतिले शिक्षा क्षेत्रमा खजुराले ठूलो लगानी गरेको बताउँदै कोभिडबाट प्रभावित भएकोले वैकल्पिक प्रणाली लागू गरेको बताए । उनले यो विधिलाई कार्यान्वयन गर्नको लागि करीब ५९ लाख रुपैयाँ छुट्टाइएको बताए ।
अहिलेको संकट लामो जाने संकेत देखिएपछि कोभिडबिरुद्धको खोप माग गरिएको बताउँदै उनले नयाँ शैक्षिकसत्रमा आइसिटी विधिको प्रयोग गर्नका लागि नेट, इन्टरनेट नभएका विद्यालयलाई सहयोग गरिने उल्लेख गरे । अध्यक्ष कक्षपतिले संकल्प गरे सबै कुरा सम्भव हुने भन्दै इच्छा शक्ति राखेर शिक्षकहरुले वैकल्पिक विधिलाई सफल बनाउनु पर्ने बताए । २१ करोड सशर्त बाहेक २ करोड २१ लाख गाउँपालिकाले विननियोजन गरेकोले शिक्षामा बजेटको कमी नभएको उनले उल्लेख गरे । शिक्षा समिति सदस्य भक्तबहादुर केसीले हिजो कक्षा कोठामा लाठी बोकेर जाने गरिन्थ्यो भने अब नयाँ टेक्नोलोजी लिएर जाने अबस्था आएको भन्दै कोभिडको लागि अनलाइन भए पनि अन्य समयमा पनि टेक्नोलोजीका साथमा अगाडि बढ्ने बेला आएको बताए ।
शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले वैकल्पिक माध्यम प्रयोग गरेर पठनपाठनलाई निरन्तरता दिन जोड दिएको उल्लेख गर्दै जुम बैठकबाट अनुभव आदानप्रदान, बर्सेनि तालिम, सिकाइसंग जोडिनेका लागि सबै विद्यालय एकसाथ अघि बढ्नु पर्ने बताए । ६५ विद्यालयका १७ हजार विद्यार्थीमा वैकल्पिक कक्षाले सकारात्मक सन्देश प्रभाव हुने विश्वास व्यक्त गरे ।
कोभिडका कारण सबैलाई एकै ठाउँमा राखेर तालिम दिन नसकिने भएकाले ज्ञानोदय नमूना मावि, जनता नमूना माविमा सामुदायिक विद्यालयका शिक्षकलाई र खजुरा मिनीपार्कमा संस्थागत विद्यालयका शिक्षकलाई छुटाछुटै राखेर तालिम प्रदान गरिने भएको छ ।