भौतिक निर्माणका योजना सफल बनाउँदै डुडुवा
Tuesday, June 29th, 2021, 12:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ असार
डुडुवा गाउँपालिकाले अन्य क्षेत्रको विकासजस्तै भौतिक विकासलाई पनि प्राथमिककामा राखेर योजनाहरु सन्चालन गरेको पाइएको छ । विषेशगरी सडक स्तरोन्नती, सिचाई, ढल निकासको योजनालाई गाउँपालिकाले प्राथमिकता दिएको छ । सबै वडा तथा बस्तीहरुलाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने लक्ष्यसहित गाउँपालिकाले योजना तय गरेको थियो । सोही योजनाअनुसार गाउँपालिका भित्रका सडकहरुको स्तरोन्नती गरिएको गाउँपालिकाका योजना शाखाका अधिकृत ओमबहादुर रानाक्षेत्रीले जानकारी दिए । विगत चार वर्षको अवधिमा गाउँपालिकाले पाँच किलोमिटर सडक पिसिसि गरेको छ भने १ किलोमिटर सडक कालोपत्रे गरेको छ । यसका अलवा २३ किलोमिटर सडक ग्राभेल गरिएको छ भने बाँकी ३३ किलोमिटर सडकलाई आवश्यकता अनुसार सुधार गरिएको अधिकृत रानाक्षेत्रीले जानकारी दिए ।
सडक निर्माण मात्रै नगरी त्यसको स्तरीयतलाई पनि ध्यानमा राखेर उत्कृष्ठ काम गर्ने निर्माण कम्पनीहरुलाई पुरस्कृत गर्ने काम पनि गाउँपालिकाले गरेको थियो । यसैगरी पेश्की निरुतसाहित गर्ने, जनसहभागीता बढाउन ५ लाखभन्दा माथिको योजना मात्रै ठेक्का प्रकृयाबाट सन्चालन गर्ने, जनताको लागत सहभागिता गराउनेजस्ता उपायहरु अपनाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
आर्थिक वर्ष २०७७-७८ यता कोभिड-१९ महामारीका कारण सृजित परिस्थितिले भौतिक विकासको ठाउँमा अन्य क्षेत्रले प्राथमिकता पाएपनि निर्माणका योजनाहरुलाई सकेसम्म प्रभावित हुन नदिइएको अध्यक्ष चौधरीले बताए ।
अव्यवस्थित तथा जोखिमयुक्त बस्तीलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न अव्यवस्थित बसोवास व्यवस्थापनसम्बन्धी स्वीकृत कार्यविधिबमोजिम बस्ती विकास र जग्गाको वैज्ञानिक व्यवस्थापन गरिने, बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था गरिने योजना पनि गाउँपालिकाका भौतिक योजनाहरु हुन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा सडक निर्माण तथा स्तरोन्नतीका कार्यक्रमलाई निरन्तरता दिँदै अन्तर गाउँपालिका जोड्ने सडक निर्माणका लागि प्राथमिकता तोकी प्रदेश र संघिय सरकारसँग आवश्यक बजेट माग गरिने नीति अंगालेको छ । सडक बाहेककका भौतिक निर्माणका योजना पनि गाउँपालिकाको प्राथमिकतामा छन् । आगामी आर्थिक वर्षमा खानेपानीबाट वञ्चित बस्तीहरुमा स्वच्छ खानेपानी उपलब्ध गराउन वडा नम्बर ५ र २ मा संघीय सरकारको सहयोगमा वृहत खानेपानी आयोजना संचालन गरीने, राप्ती नदिको किनारमा पाँच करोडको लगानीमा भगवान शिवको प्रतिमा सहितको उद्यान निर्माण गरी धार्मिक तथा पर्यापर्यटन क्षेत्रको विकास गरी आन्तरीक आम्दानीको वृद्धि र स्थानीय रोजगारीको सृजना गरिने कार्यक्रम गाउँपालिकाले तय गरेको छ । यस्तै, पिकनिक स्पटको निर्माण, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा र्याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत संभार तथा पुर्ननिर्माण गरी पर्यटकीय क्षेत्रहरुको विकास गर्ने कार्यक्रम गाउँपालिकाको छ । राप्ती नदी किनारमा स्नानाघाट र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरीने, गाउँपालिकाको वडा नम्बर ५ को प्रशासनिक भवन निर्माण सम्पन्न गरिने, उपयुक्त स्थानमा एक रंगशाला निर्माणको लागी आवश्यक जग्गा व्यवस्थापन र डिपीआर गरी प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटको व्यवस्थापनको लागी पहल गरिने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
अव्यवस्थित तथा जोखिमयुक्त बस्तीलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न अव्यवस्थित बसोवास व्यवस्थापनसम्बन्धी स्वीकृत कार्यविधिबमोजिम बस्ती विकास र जग्गाको वैज्ञानिक व्यवस्थापन गरिने, बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था गरिने योजना पनि गाउँपालिकाका भौतिक योजनाहरु हुन् ।
यस्तै कृषिका आवश्य संरचना निर्माण पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । गाउँपालिकाको वडा नम्बर २ को कैरातीपुरुवामा निर्माण सम्पन्न भइसकेको छ । आगामी आर्थिक वर्षमा उक्त केन्द्रलाई पूणर्तया संचालन गरी आम कृषकहरुको बिउ संकलन, प्रशोधन र भण्डारण गरी बिउमा आत्मनिर्भता र व्यावसायीकरण मार्फत किसानहरुको रोजगारी र आयआर्जनमा वृद्धि गरिने कार्यक्रम गाउँपालिकाले तय गरेको छ भने डुडुवा-६ महाउत टोलमा ६ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गरिने पनि कार्यक्रम तय गरिएको छ ।