कोभिड महामारीमा पत्रकारिता
Tuesday, June 29th, 2021, 1:18 pm
Kalpristha
शुक्रऋषि चौलागाईं
नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा संस्था हो । संघीय संरचनाअनुसार पत्रकार महासंघ पनि संघीय ढाँचामा रुपान्तरण हुँदै पत्रकार र पत्रकारिताको समग्र विकासमा क्रियाशिल रहँदै आएको सगौरव अवगत गराउँदछु । संस्थागत विकास र सुदृढीकरणसँगै पत्रकार महासंघ लोकतन्त्र, नागरिकअधिकार र सामाजिक न्यायका पक्षमा पनि अग्रसर रहँदै आएको छ । पत्रकार र पत्रकारिताको समग्र विकासमा प्रतिवद्ध नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश समितिअन्तर्गत हाल ११ वटा शाखा रहेका छन् भने एक हजार सात सय ५० सय पत्रकार सदस्य रहेका छन् । लुम्बिनी प्रदेश समिति २१ सदस्यीय रहेको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको कार्यालय हाल बुटवलमा रहेको छ । तथापी संघीय संरचनाको कार्यान्वयनसँगै प्रदेश राजधानी भालुवाङमा कार्यालय स्थापना गर्नुपर्ने दायित्व छ ।
महामारीमा पत्रकारिता र अवस्था
महामारीका अनेकन स्वरुपहरु देखीन थालेका छन् । पछिल्लो चरण कोभिडकै कारण सबै क्षेत्र र व्यवसाय नराम्ररी प्रभावित भएको छ । कोरोनाको विषम परिस्थितिकै कारण सञ्चारमाध्यमहरु धराशायी भएका छन् । महामारी विरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेर संचारकर्मीहरुले आम जनतालाई सुसुचित र सचेत गराइरहहेको अवस्था छ । तथापी कतिपय संचारकर्मीहरु पेशाबाट विमुख पनि हुनु परिरहेको छ । पेशागत कर्तब्य निर्वाह गर्दै आइरहेका पत्रकारहरुलाई सुरक्षित राख्नु सरकारको प्रमुख दायित्व पनि हो । त्यो दायित्व निर्वाह गरेको महसुस पत्रकारहरुले गरिरहेका छैनन् । अग्रभागमा रहेर पत्रकारिता गरिरहँदा कयौं सञ्चारकर्मीहरु कोरोनाबाट संक्रमित पनि भएका छन् । दोस्रो चरणको कोभिड महामारीमा पनि पत्रकारिताको गहन जिम्मेवारी निर्वाह गरिरहँदा लुम्बिनी प्रदेशमा मात्रै पाँचजना पत्रकारले ज्यान गुएका छन् भने एक सय २० जना संक्रमणको चपेटामा परेका थिए । दिवगंत पत्रकार साथीहरुप्रति हार्दिक श्रदाञ्जली र संक्रमीतहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।
स्वास्थ्य सुरक्षाका लागि पहल
जनउत्तरदायी र मर्यादित पत्रकारिताको संस्थागत विकासका लागि सर्वप्रथम पत्रकारको स्वास्थ्य सुरक्षा नै प्रमुख दायित्व हो । नेपाल पत्रकार महासंघ पत्रकारहरुको अभिभावक संस्था पनि हो । सम्पूणर् पत्रकारको भौतिक तथा पेशागत सुरक्षा गर्नु महासंघको दायित्व हो । पत्रकारको सुरक्षाका लागि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले हरसम्भव पहल गरेको छ । महामारी विरुद्धको यो अभियानमा नेपाल पत्रकार महासंघ सदैव अग्रसर रहयो तर पनि एकल प्रयासले मात्र हामी पूणर् सुरक्षित रहन सक्छौ भन्ने हुँदैन । महामारीको जोखीमका बेला कसरी सुरक्षीत भएर पत्रकारिता गर्न सकिन्छ भन्ने सन्दर्भमा अनेकन पहलहरु गरिएका छन् । प्रत्येक जिल्ला शाखासँग नियमित सम्पर्क, समन्वय र आवश्यक सहकार्यको वातावरण सिर्जना गरियो । महासंघको सहजीकरणकै कारण कयौं संक्रमित पत्रकार साथीहरुको ज्यान जोगाउन सफल भइयो भने कयौंको सहज उपचारको व्यवस्थापन मीलाइयो । जिल्लाका पत्रकार साथीहरुका लागि मास्क, स्यानिटाइजरको व्यवस्थापन, खोप/अक्सीजनको सहज उपलब्धता, आईसोलेशनसहितको अस्पताल/संरचना निर्माण आदि मानवीय र रचनात्मक कार्यहरु पनि गरियो । प्रदेश समितिको संस्थागत विकास, शाखाको स्तरोन्नती, पत्रकारको दक्षता क्षमता अभिवृद्धि, पत्रकार कल्याण कोष, पुरस्कार र सम्मान, सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन आदिका लागि सम्बद्ध मन्त्रालयमा आवश्यक पहल मात्र गरिएन, सो को सम्वोधन समेत गराइएको छ । तथापी त्यसको प्रभावकारी कार्यान्वयनका लागि अझैं सशक्त भूमिका निर्वाह गर्नु पर्ने दायित्व छ ।
चुनौति र अबको बाटो
कोभिडको संक्रमण घटदै गएपनि पत्रकार र पत्रकारिताका चुनौति बढ्दै गएका छन् । पत्रकारहरुको सुरक्षा, पत्रकारहरुको हक अधिकार, प्रवद्र्धन तथा संरक्षण गर्नु पत्रकार महासंघको पहिलो कर्तव्य पनि हो । पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा गर्नु नै अहिलेको मुख्य चुनौती देखिएको छ । रोजगारी गुमाएका पत्रकारहरुलाई पत्रकारितामा पुनस्र्थापित हुने अवस्था बनाउनु पर्नेछ । श्रम गरे वापतको पारिश्रमीक सञ्चारमाध्यमबाट नपाईरहेको स्थिति छ । कोभिड लगायतका महामारीबाट सुरक्षित रहन आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत पत्रकारिता गर्नुपर्ने आवश्यकता बोध गरिँदैछ । पत्रकार र पत्रकारिताको विकास र प्रवद्र्धन भन्दा पनि सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सोंचमा रहेको हो की ? भन्ने महसुस गरिएको छ । सञ्चार क्षेत्रसँगको प्रयाप्त परामर्श बिना नै सञ्चार विधेयक र कानून निर्माण गर्ने अग्रसरता देखाइएको छ । यसप्रति महासंघले आफनो धारणा सार्वजनिक गरिसकेको छ । सञ्चारमैत्री कानून बनाउन तथा सहज बातावरण बनाउन हाम्रो अगुवाई जरुरी छ । स्थानीय सञ्चारमाध्यम नै आम जनताको पहिलो र प्रभावकारी माध्यम भएकाले तिनको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि आवश्यक पहल गर्नु पर्ने दायित्व पनि छ । भालुवाङमा कार्यालय स्थान्तरणसँगै नियमित कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि पनि थप पहल आवश्यक छ । हाम्रा आवश्यकता र मागहरु सम्वोधनका लागि प्रदेश सरकार, सम्बद्ध निकायलाई समन्वय र सहकार्यका लागि अनुरोध गर्दछौं ।
२०७७ असार ११ र १२ गते दाङको भालुवाङमा आयोजित कोभिड महामारीमा पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चौलागाईद्धारा प्रस्तुत कार्यपत्रमा आधारित