स्कुटरको डिक्कीमा भेटियो चितुवाको छाला
Wednesday, June 30th, 2021, 5:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ असार
बाँके प्रहरीले स्कुटरको डिक्कीमा लुकाएर ओसारपसार गरिरहेको अवस्थामा चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुशुम बजारबाट प्रहरीले घोराही उपमहानगरपालिका–९ का ३२ वर्षिय सन्तोष कुँवर र भैरवी गाँउपालिका–३ दैलेखका १९ वर्षिय जितेन्द्र शाहीलाई चितुवाको छालासहित नियन्त्रणमा लिएको प्रंहरीले जनाएको छ ।

पत्रकारसामु अभियुक्तलाई सार्वजनिक गर्दै बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको अवस्थामा कुँवरले चलाएको रा ४ प ६५०४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा डिक्कीभित्र कालो झोलामा राखिएको तीन फिट तीन ईन्च लामो चितुवाको छाला बरामद गरिएको जानकारी दिए । करिब ३० लाख मुल्यमा उक्त छाला किनबेच हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छाला ओसारपसार तथा किनबेचमा संलग्नलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम नगद पाँच लाख देखि १० लाख रुपैयाँसम्म जरिवाना र पाँच देखि १५ वर्षसम्म कैद सजाय वा दुवै हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।