बादलले ढाकेपनि पानी नपर्दा नेपालगन्जमा बढी गर्मी महसुस
Wednesday, June 30th, 2021, 5:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ असार
पछिल्लो केही दिनयता नेपालगन्जमा चर्को घाम पनि लागेको छैन । मधुरो घाम मात्रै देखिँदा पनि चर्को घामलाग्दा महसुुस हुने खालको गर्मीको महसुस भइरहेको छ । खलखली पसिना आउने गरेको छ । त्यसैमाथि विद्युत अनियमित हुँदा गर्मी झेल्न सकस हुने गरेको स्थानीयहरु बताउँछन् ।
जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका इन्चार्ज विनोद पराजुलीका अनुसार बादल लागेको बेला पनि गर्मीको महसुस बढी हुनुमा अधिकतम तापक्रम भन्दा न्युनतम तापक्रमको भूमिका बढी हुने गरेको छ । बुधबार नेपालगन्जको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस रहेकोमा न्यूनतम तापक्रम भने २८ डिग्री सेल्सियस रहेको छ । पराजुलीका अनुसार अधिकतम र न्यूनतम तापक्रमको फरक कम हुँदा तापक्रम कम भएपनि लगातार गर्मीको महसुस हुने गर्दछ ।
केहीदिनयता नेपालगन्ज आसपासको आकाशमा बादल लागेपनि पानी परेको छैन । बादलले ढाकिरहँदा सुर्यको ताप जमिनमा आएर पुनः वायु मण्डलतिर फर्किन पाएको छैन । बादलले हरितगृहको जस्तै काम गर्ने हुँदा अधिकतम र न्यूनतम तापक्रमको फरक घटेको छ । जसले गर्दा पसिना निस्कनेगरी गर्मीको महसुस भइरहेको पराजुलीले बताए ।
पराजुलीका अनुसार केहीदिन नेपालगन्ज आसपासमा ठूलो पानी पर्ने संभावना छैन । लुम्बिनी प्रदेशको दाङभन्दा पूर्वतिरको क्षेत्रमा ठूलो पानी पर्ने संभावना भएपनि दाङभन्दा पश्चिमतिर बुधबार राती छिटपुट मात्रै पानी पर्ने अनुमान गरिएको पराजुलीले जानकारी दिए । पानी परेसँगै अहिले महसुस भईरहेको उम्सोपन कम हुने हुनले बताए ।