प्राधिकरण भन्छ नेपालगन्जमा विद्युत् समस्या छैन, नागरिक भने हैरान्
Wednesday, June 30th, 2021, 8:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ असार
नेपालका धेरै गर्मी हुने स्थानहरु मध्येमा नेपालगन्जको नाम पहिलो स्थानमा आउँछ । तर, वर्षौंदेखि लोडसेडिङ, कम भोल्टेजको विद्युत् र जानकारी बिनै विद्युत् जाने समस्या झेल्दै आएका नेपालगन्जवासीहरु अझै उक्त समस्याबाट मुक्ति पाउन सकिरहेका छैनन् । विगत एक-दुई दिनदेखि यहाँ अत्याधिक गर्मी महसुस भइरहेको छ भने लोडसेडिङको तालिका बिना नै विद्युत् कटौति हुने गरेको छ । जानकारी बिनै पटक-पटक विद्युत् आउने र जाने समस्याले उद्योगी, व्यवसायी र सर्वसाधारण हैरान् भएका छन् । अनियमित विद्युत्ले विद्युतिय उपकरण र मेसिनहरुमा क्षति भइरहेको उद्योगीहरु बताउँछन् ।
यही समस्यालाई लिएर नेपालगन्जवासी, संचारकर्मी, विभिन्न संघ-संस्थाका प्रतिनिधिलगायत नागरिक समाजका अगुवाहरुले बुधबार नेपालगन्ज विद्युत् वितरण केन्द्रका प्रमुख लखनलला मल्लिकसँग भेट गरेका छन् । तर प्रमुख मल्लिकले उनीहरुसँगको भेटमा नेपालगन्जमा विद्युत्को समस्या नरहेको बताए ।
उक्त भेट कार्यक्रममा नेपालगन्ज उद्योग वाणीज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, सचिव चिरञ्जिवी ओली, नेपाल उद्योग वाणीज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, एनजीओ फेडेरेसन बाँकेका अध्यक्ष नमस्कार शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलगायत विभिन्न उद्योगी, विद्यालयका प्रतिनिधि र पत्रकारहरुले मल्लिकसँग नागरिकले भोगिरहेको विद्युत अनियमितको सास्तिबारे अवगत गराएका थिए ।
उनीहरुले विद्युत् प्राधिकरणले आफ्नो जिम्मेवारी पूणर्रुपले वहन नगरेको आरोप लगाएका थिए । प्राधिकरणले आफ्ना उपभोक्तालाई गुणस्तरीय सेवा दिन नसकेको गुनासो उनीहरुको थियो ।
नेपालगन्ज उद्योग वाणीज्य संघका अध्यक्ष मन्सुरीले विद्युत् प्राधिकरणले विद्युत अनियमित हुनुका कारण र समाधानका विषयमा प्राधिकरणका प्रमुख मल्लिकसँग प्रश्न गरेका थिए । पत्रकार महासंघका अध्यक्ष भण्डारीले प्राधिकरण पूणर्रुपमा जिम्मेवारी पूरा गर्न असफल रहेको बताए ।
उपस्थित सहभागीका भनाइप्रति उत्तर दिँदै वितरण प्रमुख मल्लिकले विद्युत् प्राधिकरणले विद्युत् कटौति नगरेको दावी गरे । उनले विभिन्न विद्युत् वितरण केन्द्रमा रहेका ट्रान्फर्मरमा समस्या आउने गरेको बताए ।
‘हामीले सकेसम्म जनतालाई समस्या नहोस भन्ने हिसाबले काम गरिरहेका छौं । तरपनि केही स्थानमा समस्या आएकोले सामाजिक संजालमा जानकारी राखेर मर्मत कार्य गर्दा विद्युत् जाने समस्या आएको हो,’ प्रमुख मल्लिकले भने । उनले थप्दै भने, ‘हामी कहाँ विद्युत् वितरण प्रणाली पुरानै रहेको छ । त्यसमा आधुनिकरण पनि भएको छैन ।’
मल्लिकले विद्युत् वितरणमा कमी भएको खण्डमा भारतबाट विद्युत् आयात भएको बताए । उनले हाल नेपालगन्जमा देखिएको विद्युत् समस्यालाई समाधान गर्न आफूहरु गम्भीर भएर लागिरहेको बताए ।