कर्तव्य ज्यान र बहुविवाह मुद्धाका दुई फरार प्रतिवादी पक्राउ
Wednesday, June 30th, 2021, 9:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १६ असार
दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार एकजना अभियुक्तसहित दुई जनालाई पक्राउ गरेको छ । २०७३ साल असार २८ गते सर्वोच्च अदालतको आदेशबाट कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकिएका घोराही उपमहानगरपालिका-३ लक्ष्मीपुर निवासी ३८ वर्षिय राजेन्द्र चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
फरार प्रतिवादीलाई प्रहरी टोलीले खोजतलासका क्रममा मंगलबार दिउसो घोराही उपमहानगरपालिका-३ लक्ष्मीपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । पक्राउ परेका चौधरीलाई प्रहरीले बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको उनले बताए ।
त्यसैगरी प्रहरीले बहुविवाह मुद्धाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-३ कुईरेपाली निवासी ३० वषर््िाय विक्रम खड्कालाईलाई पनि पक्राउ गरेको छ । पुनरावेदन अदालत तुलसीपुरबाट २०७० जेठ ८ गते बहुविवाह मुद्दामा १ बर्ष ४ महिना कैद सजाय तोकिएका खड्का फरार रहेका थिए ।
फरार अवस्थामा रहेका खड्कालाई खोजतलासका क्रममा मंगलबार प्रहरी टोलीले घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित ससुरालीमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिएका छन् । पक्राउ परेका खड्कालाई पनि प्रहरीले कारबाहीका लागि बुधवार नै जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।