१४ वर्षमै दुवै मिर्गौला गुमाएका राजु भन्छन्, ‘म बाँच्न चाहन्छु, बचाइदिनुस् ।’
Friday, July 2nd, 2021, 4:41 pm
Kalpristha
वीरेन्द्र जैसी
जेठ ३१, नेपालगन्ज
भेरी अस्पतालको मध्य भागमा रहेको प्रवेशद्धार जो प्रायः बन्द रहन्छ । च्यानल गेट लगाइएको उक्त प्रवेशद्धारको ग्यालरीमा अप्रेसन रुमको अगाडि भुईंमा ओछ्यान लगाएर पल्टिएका छन् एक किशोर । उनको सपना छ, आर्मीमा भर्ना हुने । तर, त्यो सपना उनीसँगै उनको ओछ्यानमा रोगी भएर सुतेको छ । उनको सपनासँगै उनलाई बचाउने हरसम्भव प्रयास गरिरहेकी ४५ वर्षीया आमा मखमलीले अस्पतालमै बास बस्ने निधो गरेकी छिन् ।
उनको पेटमा विकार जम्मा भएर फुलेको छ । बायाँ हातको पाखुरामा डायलसिस गर्ने सुई लगाउँदा नशा फुकेर मोटो भएको छ । भर्खर १७ वर्ष पुगेका उनी भन्छन्, ‘मलाई धेरै बाँच्नु छ । प्लिज बचाइदिनुस् ।’
करिब १४ वर्षको उमेरमा स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले उनको दुवैै मिर्गौला बिग्रिएको पत्ता लगाए । त्यसपछि मिर्गौलाले काम नगर्दा शरीरमा जम्मा भएको विकार सफा गर्न अर्थात् डाअलसिस गर्न हप्तामा दुईपटक भेरी अस्पताल धाउनुपर्ने बाध्यता आईलाग्यो । हप्तामा दुईपटक बढैयातालदेखि करिब २६ किलोमिटर टाढा रहेको नेपालगन्जस्थित भेरी अस्पताल ल्याउन लैजान आमा मखमलीले कति कष्ठ झेलिन् त्यसको वयान गर्न सक्दिनन् उनी ।

उनी बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ३ का राजु परियार हुन् । करिब १४ वर्षको उमेरमा स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले उनको दुवैै मिर्गौला बिग्रिएको पत्ता लगाए । त्यसपछि मिर्गौलाले काम नगर्दा शरीरमा जम्मा भएको विकार सफा गर्न अर्थात् डाअलसिस गर्न हप्तामा दुईपटक भेरी अस्पताल धाउनुपर्ने बाध्यता आईलाग्यो । हप्तामा दुईपटक बढैयातालदेखि करिब २६ किलोमिटर टाढा रहेको नेपालगन्जस्थित भेरी अस्पताल ल्याउन लैजान आमा मखमलीले कति कष्ठ झेलिन् त्यसको वयान गर्न सक्दिनन् उनी ।
करिब चार वर्षअघि राजुको कान नसुन्ने समस्या देखिएको थियो । त्यतिबेला परिवारले अस्पतालमा लैजानुभन्दा धामी झाक्रीलाई देखाउनु उपयुक्त ठान्यो । झरफुक गरियो । तर त्यो समस्या समाधानको सही उपाय थिएन । करिब तीन वर्षअघि नेपालगन्जस्थित एक मेडिकलमा काठमाडौंबाट नेफ्रोलोजिष्ट डाक्टर अनिल पोखरेल आएकाबखत जाँच गराउँदा थाहा भयो उनको मिर्गौलामा समस्या छ । डा. पोखरेलले उनलाई भेरी अस्पतालका फिजिसियन डा. पारस श्रेष्ठकहाँ जिम्मा लगाए । उनको नियमित डाअलसिस गर्नुपर्ने निष्कर्श निकालियो । त्यसपछि सुरु भए मखमली र राजुका थप कष्ठपूणर् दिनहरु ।
राजुका बुवा १३ वर्ष भयो प्रदेश जान थालेको । अहिले पनि उनी कतारमै छन् । उनी त्यहाँको एक कृषि फर्ममा काम गर्छन् रे । उनले पठाएको पैसा राजुलाई अस्पताल ल्याउन लैजान, बैंकको किस्ता तिर्न र उनको औषधि किन्न ठिक्क हुन्छ । ‘गाडि उस्तै महंगो’ मखमलीले भनिन्, ‘यो किड्नीको औषधि कति महंगो हुने रैछ बाबु ! भएको पाँच कठ्ठा जग्गापनि बैंकमा राखियो । अर्काको, साहुको ऋण लिइएको छ ।’ मखमलीका अनुसार राजुको उपचारकै लागि करिब १३ लाख ऋण लागेको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि जारी निषेधाज्ञाका कारण अस्पताल आउनेजाने साधन नै नपाइने भएपछि आमाछोराको वास अस्पतालको ग्यालरीमै हुन थाल्यो । अस्पताल परिसरमै अन्जनी माता रसोईले २० रुपैयाँमा खाना दिने भएकोले उनीहरुलाई भोक टार्ने समस्या भएन । केही दिनपछि मखमलीले सोही रसोईमै काम पाइन् । उनीहरु करिब एक महिनादेखि भेरी अस्पतालमै छन् ।

डाक्टर पारस श्रेष्ठले सुरुदेखि नै राजुको मृगौला प्रत्यारोपण गर्न सुझाव दिँदै आएका छन् । सकेको सहयोग गर्ने वाचा पनि श्रेष्ठले गरेका छन् । तर, मखमलीको परिवारलाई मृगौला प्रत्यारोपणको खर्च सुनेर छोराको जीवन बचाउने एकमात्र उपाय आकाशको फलजस्तै बनेको छ । डा. श्रेष्ठका अनुसार अहिले मृगौला प्रत्यारोपणका लागि कम्तिमा पनि १३ लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । मिर्गौला प्रत्यारोपण भइसकेपछि सरकारले करिब पाँच लाख रुपैयाँ राहतस्वरुप दिन सक्छ । तर, अहिले मखमली र उनको परिवारसँग छोराको जीवन बचाउन त्यत्रो रकम जुटाउने आर्थिक हैसियत छैन । ‘आमा ! म धेरै बाच्न चाहन्छु भन्छ । आफ्नो हालत यस्तो छ कि उ बाँच्न सक्ने उपाय छ भन्ने थाहा हुँदाहुँदै पनि केही गर्न सकिएको छैन,’ मखमलीका आँखा भरिए ।
डा. श्रेष्ठका अनुसार डाअलसिस एक अस्थायी विकल्प मात्रै हो । बढीमा सात वर्षसम्म डायलसिसले मान्छेलाई जोगाउन सकिने उनी बताउँछन् । ‘उ त जवान मान्छे छ । उसको त जीवन नै परिवर्तन हुन सक्छ यदि किड्नी ट्रान्सप्लान्ट गर्न सकियो भने,’ डा. श्रेष्ठ भन्छन् । उनका अनुसार प्रत्यारोपणको लागि आर्थिक समस्या नै मुख्य हो ।
राजुले कक्षा नौ सम्म पढेका छन् । पढाईमा राम्रै विद्यार्थी भएको उनी बताउँछन् । ‘कक्षा आठमा सेकेण्ड डिभिजनमा पास भएको थिएँ,’ पढाईका कुरा गर्दा उत्साहित हुँदै राजुले भने । उनलाई आमाबुवाको बाध्यता पनि राम्ररी थाहा छ । आफूजस्तै समस्यामा रहेका कति जनालाई मानिसहरुले सहयोग गरेको पनि उनले सामाजिक सन्जालबाट थाहा पाएका छन् । मिडियाले आफ्नो पीडा मानिसहरुलाई जानकारी गराइदिए सहयोग पाउथेँ कि भन्ने आशा उनमा रहेछ । ‘मिडियालाई भनौँ भनेर भाग्य न्यौपानेलाई फोन गरेँ, उठेन । कृष्ण कडेललाई भनेको अहिले प्याक छ भने,’ राजुले आफुले गरेको प्रयासबारे भने । आमा मखमलीलाई पनि मानिसहरुले आफ्नो समस्या थाहा पाए सकेको सहयोग गर्छन् र छोराको उपचार हुन्छ भन्ने आशा छ । ‘डाक्टर साबले भन्नुहुन्छ, मानिसहरुसँग सहयोग जुटाएर भएपनि छोराको उपचार गर्नुस्, यति कलिलो उमेरको मान्छेलाई बचाउनुपर्छ भनेर । तर आफूलाई थाहै छैन कहाँ गएर भन्ने । मान्छे जम्मा भएको ठाउँमा गएर सहयोग मागौँ सोच्छुँ । के भन्लान् भन्ने लागेर हिम्मतै आउँदैन,’ मखमलीले भनिन् ।
राजुको डाअलसिसि गरिरहेका डा. श्रेष्ठका अनुसार मिर्गौलाले काम नगर्दा उनको पेटमा पानी जम्मा भएको छ । पानी जमेको अवस्थामा चढाउनुपर्ने एउटा औषधि पनि उनीहरुले किन्न सकेका छैनन् । त्यो पानी समय-समयमा पाइप लगाएर फाल्नुपर्ने हुन्छ । यही बिचमा उनी कोरोना संक्रमित पनि भए । डा. श्रेष्ठका अनुसार डाअलसिस एक अस्थायी विकल्प मात्रै हो । बढीमा सात वर्षसम्म डायलसिसले मान्छेलाई जोगाउन सकिने उनी बताउँछन् । ‘उ त जवान मान्छे छ । उसको त जीवन नै परिवर्तन हुन सक्छ यदि किड्नी ट्रान्सप्लान्ट गर्न सकियो भने,’ डा. श्रेष्ठ भन्छन् । उनका अनुसार प्रत्यारोपणको लागि आर्थिक समस्या नै मुख्य हो । ‘आमाको मिर्गौला दिन मिल्छ भने उहाँकै नभए साटफेर गरेर भएपनि काठमाडौंमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । राजुका लागि सबभन्दा ठूलो समस्या आर्थिक नै हो,’ श्रेष्ठले भने ।
राजुमा देखिएको समस्या उनको उमेरका कमै मानिसलाई देखिने समस्या हो । डा. श्रेष्ठ भन्छन्, ‘मिर्गौला खराब हुने मुख्य दुईटा कारण भनेको सुगर र प्रेसरले गर्दा हो । तर अहिले आएर खानपिनले गर्दा जवानहरुमा पनि ब्लड प्रेसरको समस्या देखिएको छ । यो बाबुलाई पनि प्रेसरले हान्यो । सुरुमा हामीलाई मिर्गौला सुन्निने समस्या भए डाअलसिसबाट केही सुधार आउँछ कि भन्ने लागेको थियो तर, आएन ।’
किशोरावश्थामै दुवै मिर्गौला गुमाएर मृत्युसँग लडिरहेका राजु छुट्टिँदा पनि भन्दै थिए, ‘मलाई बाँच्न रहर छ, बचाईदिनू । आफ्नो आर्थिक कमजोरी हुनाले यत्रो पैसा जुटाउन सकिएन । केही गर्न सकिएन सर ! सधैंभरी यस्तै ममिबुवाको काखमा बस्नुपर्यो । मलाई बाँच्ने रहर छ सर…।’
(राजुलाई सहयोग गर्न ईच्छुक महानुभावहरुले उनको मोबाइल नम्बर ९८०५१०२६७२ वा ९८५८०४६०३९ मा सम्पर्क गरी थप बुझ्न सक्नुहुनेछ ।)