कर्णाली प्रदेशको बजेटमाथिको छलफल अनिश्चित
Thursday, July 8th, 2021, 7:04 pm
Kalpristha
कालपृष्ठ डेस्क
सुर्खेत, २४ असार
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधले कर्णाली प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन । बिहीबार पनि प्रदेशसभाको बैठक स्थगित भयो । आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण बैठक सञ्चालन हुन सकेन ।
बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेपछि सभामुख राजबहादुर शाहीले एक जनालाई बोल्न र अन्यलाई आसनग्रहण गर्न अनुरोध गरे । त्यसपछि एमालेका प्रदेशसभा सदस्य दल रावलले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण विरोध गर्न बाध्य भएको बताए । रावलले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुखले यही असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे । एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । हाल प्रदेश सरकारमा एमालेका तीन जना सदस्य मन्त्री छन् । फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी गराएका थिए ।