उप-महानगरपालिकाको पाँच बुँदे प्रतिबद्धता
Thursday, July 8th, 2021, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असार
नेपालगन्ज उप-महानगरपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बिहीबार नेपालगन्जमा सम्पन्न सार्वजनिक सुनुवाईपछि पाँच बुँदे साझा प्रतिबद्धता गरिएको छ । प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहानगरपालिका-४ मा रहेको प्रगतिपथ टोलको सडक निर्माणका लागि पहल गर्ने, वडा नम्बर १ को मुस्लिम टोलको नाली र फोहोरको समस्या समाधान गर्ने, नगरमा व्यापक वृक्षारोपण गर्ने र विरुवाहरुको संरक्षण गर्ने, विद्युतीय शवदाह गृह बनाउन पहल गर्ने उल्लेख छ ।
यस्तै सोलार बत्तीको तत्काल मर्मत गर्ने, नगरभवन परिसरमा अन्डरग्राउण्ड पार्किङ निर्माण गर्ने, लक्षित वर्गको उत्थानका लागि लक्षित वर्ग र संघसंस्थाहरुसँग सहकार्य गर्ने, अस्पतालहरुको प्रचार-प्रसारका साथै अस्पतालजन्य फोहोर व्यवस्थापनमा सहकार्य गर्ने, सडकको बिचमा रहेका विद्युत्का पोल विस्थापन गर्ने काममा उप-महानगरपालिकाले सहयोग गर्ने र भेरी अस्पतालबाट जेलरोड निस्कने सडकको दुर्गन्धित नालीको समस्या समाधान गर्न उप-महानगरपालिकाले डिपिआर बनाई अस्पताललाई सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रतिबद्धतामा नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, वडाध्यक्ष, कार्यपालिका सदस्य एवं उपस्थित सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् । सुनुवाईको बागेश्वरी असल शासन क्लब बासले सहजीकरण गरेको थियो ।