सीके राउत पक्राउ: होला त जन्मकैद ?
Friday, February 3rd, 2017, 2:12 am
amit
काठमाडौं – मधेस टुक्र्याउने सम्मको धम्की दिँदै स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो ।
सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थिए र, देश टुक्राउने अभिव्यक्ति दिएका थिए ।
यो घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ । र, उनलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्रोतका अनुसार राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी छ । यो मुद्दा चलाउन काठमाडौंस्थित विशेष अदालत ल्याउनुपर्छ ।
राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, धरौटीमा छुटेका थिए ।
आरोप प्रमाणित भए जन्म कैद
राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजायँ हुन्छ । उनले राज्यद्रोह वा त्यसका लागि प्रोत्साहन गरेको प्रमाणित भए कम्तिमा दुईवर्षसम्म कैद सजायँ हुन्छ ।
राज्यविरुद्धको अपराध ऐनअनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ ।
को हुन् राउत?
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।
उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए।
जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।
आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्।
एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।
जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए।
पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।