९ लाख ६४ हजारले लगाए कोरोनाको खोप
Friday, July 9th, 2021, 8:01 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, २५ असार
शुक्रबारसम्म साढे ५० लाख हजार डोज कोरोना खोप नेपाल भित्रिएको छ । चीनले अनुदानमा १८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो । यसैगरी नेपालले भारतसँग खरिद सम्झौता गरेकोमध्ये १० लाख र अनुदानमा ११ लाख कोभिशिल्ड खोपको मात्रा प्राप्त गरेको थियो । भारतसँग खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप आउन बाँकी नै छ । यस्तै कोभ्याक्स कार्यक्रममार्फत कोभिशिल्डको ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । शुक्रबारसम्म ३ प्रतिशतभन्दा बढी नागरिकले कोभिड-१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । मन्त्रालयको तथ्यांक अनुसार कोभिशिल्ड र भेरोसेल गरी दुवै डोज खोप लगाउनेको संख्या ९ लाख ६४ हजार ५०८ छ । जुन कुल जनसंख्याको ३.२२ प्रतिशत हो । पहिलो डोज मात्रै लगाउनेको संख्या १६ लाख ४७ हजार २९९ रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । सम्झौताअनुसार पहिलो लट खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत खोप ल्याइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
शुक्रबार काठमाडौं आइपुगेको ८ लाख खोपमध्ये केही पोखरा र हेटौंडा पठाइएको छ भने सडक अवरुद्ध भएका कारण बुटवल भने पठाउन सकिएको छैन ।
बाँकी खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिस्यान भण्डारणमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । ‘खोपको सबै विवरण कम्प्युटरमा इन्ट्री गर्ने काम सकिनासाथ प्रदेशस्थित भण्डारण स्थलहरुमा पठाउँछौं,’ उनले भने ।
मन्त्रालयका अधिकारीहरुका अनुसार टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् । हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् । यदि खोप राख्ने स्थान अभाव भएमा निजी वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्ने मन्त्रालयको योजना छ ।