ठाकुरबाबा नगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गर्ने
Friday, July 9th, 2021, 9:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, २५ असार
बर्दियाको ठाकुरबाबा नगरपालिकाकाले नगरपालिकास्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने भएको छ । नगरपालिकाभित्रको भाषा, कला, साहित्य, गीतसङ्गीत, नृत्य, नाट्यकला, ललितकला लगायत सम्पूणर् वाङ्ममयको विकासका लागि प्रतिष्ठान गठन गर्ने मेयर घननारायण श्रेष्ठले जानकारी दिए ।
नगरपालिकामा रहेका कलासाहित्यमा सक्रिय व्यक्तिहरुको सुझावका आधारमा प्रतिष्ठान गठन गर्नलाई बजेट व्यवस्था गरिएको श्रेष्ठले बताए । आगामी आर्थिक वर्षको बजेटमा करिब १० लाख रुपैयाँ छुट्याइएको छ । प्रतिष्ठान कसरी गर्ने भन्ने विषयमा छलफल गरेर आवश्यक ऐन नियम बनाइने मेयर श्रेष्ठले जानकारी दिए ।
संघीयतासँगै संघीय सरकार अन्तर्गतको प्रज्ञा प्रतिष्ठानजस्तै माडेलमा अन्य स्थानीय तहमा पनि प्रतिष्ठान गठन गर्न सकिने व्यवस्था गरिएपछि हाल देशका विभिन्न स्थानीय तहले प्रतिष्ठान गठन गरिरहेका छन् । सबैभन्दा पहिले पोखरा महानगरपालिकाले प्रतिष्ठान गठन गरेको थियो ।
प्रतिष्ठानका लागि नगरपालिकाले बजेट छुट्याएपछि नगरवासी कलाकार तथा साहित्यकारहरुले खुसी व्यक्त गरेका छन् । स्थानीयवासी कलाकार एवं लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दियाका अध्यक्ष खगेन्द्र नेपाललले फेसबुकमा लेखेका छन्, ॅसंघीयताको मर्म अनुसार भाषा, कला, साहित्य, गीतसङ्गीत, नृत्य, नाट्यकला, ललितकला लगायत सम्पूणर् वाङ्ममयको विकास र उत्थानका लागि नगर स्तरिय ठाकुरबाबा प्रज्ञाप्रतिष्ठान गठन गरी काम अगाडि बढाउन नगरसभाबाट बजेट विनियोजन गर्नुभएको सुन्न पाउँदा कलाकारको मन हर्षले गदगद भयो ।’
यता बाँकेका कोहलपुर बाहेक कुनैपनि स्थानीय तहले साहित्य र कलाका लागि अलग्गै बजेट छुट्याएका छैनन् । पश्चिम नेपालको साहित्यको केन्द्र नेपालगन्ज उप-महानगरपालिकाले समेत बजेटमा कुनै व्यवस्था गरेको छैन ।
