आँसु रसाइरहने ‘लजालु पहाडहरु’
Saturday, July 10th, 2021, 1:15 pm
Kalpristha
–बिपी अस्तु
वास्तवमा मैले यो गीतसँग्रह पढ्नुअघि चिनेको अमृत दाइले आँसुलाई यति धेरै प्रेम गर्नुहुन्छ भन्ने सोचेको थिइनँ । मैले यो पुस्तक पढ्नुअघिसम्म पुस्तकमा उहाँले बढी मात्रामा उत्साह, उमंग, प्रेमको सुखानुभूति, राजनीतिक चेत र अर्ति या उपदेश लेख्नुभएको होला भन्ने अपेक्षा गरिरहेको थिएँ । पुस्तकभित्र पसिसकेपछि म अपेक्षाच्यूत भएँ । त्यसपछि मैले चिन्ने अमृत दाइ र गीतकार अमृत शर्मा ढकाल अलग मान्छे हुन् भन्ने विश्वास मलाई भयो ।
……………………………….
यदि प्रेममा अरु केही छैन
मात्र पीडा छ भने यो प्रेम किन छ ?
कस्तो मूर्खता हो यो
कि मैले उसलाई आफ्नो मुटु दिइसकेँ
यसकारण उसको मुटुमा
अधिकार बन्छ मेरो पनि
रगतमा जल्दै गरेका ईच्छाहरु
अनि आँखामा
चम्किँदै गरेको पागलपनसहित
मरुभूमिको यो लगातारको चक्कर किन ?
रविन्द्रनाथ ठाकुरको यो कविता पढ्दै गर्दा मलाई महसुस भएको थियो, एक सताब्दि अघि नै उनले म जन्मिन्छु अनि यस्तै महसुस गर्छु भन्ने कसरी थाहा पाए ? र मेरो लागि कविता लेखिगए ? मैले त्यसपछि आफ्ना अनुभूतिहरु यस कविताको आभामा होमेँ र हल्का भएको महसुस गरेको थिएँ ।
आखिर ओल्टाईपल्टाई हेर्दा जतापट्टी पनि पीडा । खै के ले हो त्यही पीडैपीडाको भूमरीबाट टाढा जानै नदिने, रविन्द्रनाथले उपर्युक्त पंक्तिवाला कविताको निष्कर्शमा भनेझैँ ।
फेरि पनि कुन्नि किन हो हामीलाई
अस्तित्वलाई निल्दै गरेको यस कुहिरोको
खोजी रहिरहन्छ ?
ठाकुरको यो कविताको सम्झना ‘लजालु पहाडहरु’ मुसारिरहँदा बारम्बार आइरह्यो ।
अमृत दाइले पुस्तक प्रकाशन भएको खुसी साट्न सुनाखरीमा बोलाउँदा ढिलोगरी पुगेको पछुतो अप्रत्याशितरुपमा पुस्तकले हात मुसारेपछि खै कता हो गायव भएको थियो । पुस्तकले कतै बिझाएन । अस्वभाविक लाग्नेगरी चप्किएन । आफ्नो अस्तित्व स्वघोषणा गर्ने नाममा भौतिक वजन पनि महसुस गर्न दिएन । तर, खै कुन तरङ्ग हो नशाको छेउ हुँदै सिधै ममा आएर लछप्पै भिजायो । घुमाइफिराई रुपरङकै कुरा गर्यो भन्नुहोला । भएकै त्यही थियो ।
मान्छे अभिव्यक्तिका माध्यमको ओरालो झर्दै गयो भने कहाँ पुग्छ ? भन्ने प्रश्नको सबैभन्दा नजिकको उत्तर हामीले भोगेको १० वर्षे सशस्त्र युद्ध नै होला । संसारका शोषित र विकल्पविहिन मानव समुदायले अहिले पनि अभिव्यक्तिको सबैभन्दा खराब माध्यमको सहारा लिइरहेकै छन् ।
अभिव्यक्तिका माध्यमको उकालो चढ्दै गयो भने पुग्ने अन्तिम बिन्दु कहाँ होला ? सायद मौनता ? तर त्यो मौनता मृत्यु होइन समाधी हुनुपर्ला ।
मौनताभन्दा केही खुट्किला तल सायद गीत हुन्छ । प्रायः मान्छे अभिव्यक्तिको उकालो चढ्दै गीतसम्म पुग्छन् । गीतसम्म पुग्ने मान्छेले पल्लो डाँडामा सायद समाधी देख्छन् । गीत सुन्ने/पढ्ने मान्छेले त्यही समाधीको तरंग महसुस गर्छन् । सायद त्यही तरंगको एक सानो अंशले मलाई छोएको थियो त्यतिबेला ।
मलाई गीतको जातीय नालीबेली थाहा छैन । गीतसंग्रह ‘लजालु पहाडहरु’ का सर्जक अमृत शर्मा ढकाल गीत र मानिसको सम्बन्धबारे यसरी प्रष्ट्याउँछन् । उनैको भनाईले तपाईंको चित्त बुझाउला ।
‘जल, वायु, तेज, अग्निबाट भौतिक जगतको आरम्भ सम्भव भयो । शनैशनै प्रकृति, जीव, पर्यावरणको मौलिक विकास बामे सर्न थाल्यो । जीवमा पनि मान्छेको सिर्जनापछि समाज, देश, दुस्मनी, प्रेम सबै-सबैको सिर्जना भयो । या भनौँ अनुभूति र अभिव्यक्तिको सिर्जना भयो । अनूभूतिको कोमल अभिव्यक्तिको रुपमा जन्म भएको काव्यको कापबाट शायद गीत टुसायो होला । मान्छेलाई आँसुजत्तिकै आफ्नो लाग्न थालेपछि गीत चिरञ्जीवी भएको छ ।’
गीतकार ढकालले आँसुलाई मान्छेको सबैभन्दा आफन्त भन्छन् । यसैबाट तपाईं बुझिहाल्नुस् ‘लजालु पहाडहरु’को नाम र आवरणमा मात्रै पहाड छन् । ती पनि कोमल स्तनको झल्को दिने । यसमा संग्रहित अधिकांश गीतहरु आँसु हुन् । आँसुका ताल, नदी, महासागर, वाफ, बादल र हिउँ आदि हुन् ।
वास्तवमा मैले यो गीतसँग्रह पढ्नुअघि चिनेको अमृत दाइले आँसुलाई यति धेरै प्रेम गर्नुहुन्छ भन्ने सोचेको थिइनँ । मैले यो पुस्तक पढ्नुअघिसम्म पुस्तकमा उहाँले बढी मात्रामा उत्साह, उमंग, प्रेमको सुखानुभूति, राजनीतिक चेत र अर्ति या उपदेश लेख्नुभएको होला भन्ने अपेक्षा गरिरहेको थिएँ । पुस्तकभित्र पसिसकेपछि म अपेक्षाच्यूत भएँ । त्यसपछि मैले चिन्ने अमृत दाइ र गीतकार अमृत शर्मा ढकाल अलग मान्छे हुन् भन्ने विश्वास मलाई भयो ।
गीतकार ढकालले कृति समर्पणका शब्द लेख्दा उल्लेख गरेका छन् ‘जसलाई सम्झँदा-सम्झेको उत्सवमा, बिर्संदा-बिर्सेको सन्तापमा यी गीतहरु लेखें ।’ गीतकारले सम्झेको उत्सवको कुरा गरेपनि ती उत्सवका प्यालाहरु सन्तापका अम्खोरापल्तिर छेकिएका छन् । गीत पढिसकेर गीतकार हाँसीरहेको कल्पिने हो भनेपनि उनका आँखामा आँसु देखिनेछ । गीतकार आफैं भन्छन्,
मेरो हाँसोमा पनि आधा आँसु हुन्छ, आधा औँसी हुन्छ जूनमा पनि
सपनामा एकछिन हाँसेर के भो विपनामा फेरि रुन्छ सिरानी
आँशु, रुनु, जल्नु, पोल्नु, छटपटी, पीडा, रात, अँध्यारो, खडेरी, घाउ, दुख्नु, आदि शब्दहरु यस गीतसंग्रहमा संग्रहित गीतका साझा शब्द जस्ता लाग्छन् । यी मध्येका केही शब्द सबै गीतकारका साझा शब्द पनि हुन् । या भनौँ यी सबै मानिसका साझा अनुभूति बोक्ने शब्द हुन् । तर, यीनै शब्दको वरिपरि गीतकार ढकालले टिपेका अरु शब्दहरु जिपरमा चयनका दाँत आफैं मिलेझैँ मिल्न पुगेका छन् । कतै बारबन्देज नलगाएर शब्दहरुलाई गीतकारले कलाको मधुरसले लठ्याइदिएका छन् । गीतका लागि आवश्यक भनेर कृत्रिम शब्दविन्यासमा कठोरता प्रदान गर्ने कामलाई गीतकारले घोषित रुपमै अस्वीकार गरेका छन् । पीडा अनुभुतिको कतिसम्म तल्लो तह छुन सकिन्छ र त्यसलाई गीतमा कति सुन्दर तरिकाले अभिव्यक्त गर्न सकिन्छ भन्ने सचेत वा अवचेतन प्रयत्न गीतकारको हो कि भन्ने जाहेज शंका गर्न सकिन्छ ।
मैले माथि नै भनिसकें मलाई गीतको सैद्धान्तिक नालिबेली थाहा छैन । यो गीत हो भन्ने ठम्याउने ‘कमन सेन्स’ बाहेक के भयो भने गीतको भित्री शरीरप्रणाली पूरा हुन्छ मलाई थाहा छैन । त्यही भएर हो कि खै कुन्नी मलाई ढकालका गीतहरु कविता-कविताजस्ता लागे । गीतकार दिनेश अधिकारीले नै भनेका रहेछन्, ‘गीत मेरा लागि कविताकै एक रुप हो । गाइए यो गीत हो, यसले साङ्गीतिक आनन्द दिन्छ । नगाइँदा यो कविता हो, यो आफैंमा पूणर् हुन्छ ।’
सबै जलाउने तेजाब आफैं कति जल्दो होला
छानो उडाउने हुरीको मन कति उड्छ होला
मैले सुरुमै रविन्द्रनाथ ठाकुरको कविताको सम्झना गर्दै प्रेमको प्रसँग उठाएको थिएँ । ढकालले गीत बनाएका आँसुका मूलहरु त्यही प्रेमकै पीडा वर्षापछि उम्रिएका हुन् । संग्रहका साढे पाँच दर्जन गीतमध्ये ९५ प्रतिशत बढीमा वासनामय प्रेमबाट सृजित पीडाकै अभिव्यक्ति छ । गीतहरु पढिरहँदा कहिले लाग्छ कति प्रेम चाहिएको हो मान्छेलाई ?, कहिले लाग्छ कठै बरा ! यतिसम्म पनि प्रेमबाट वन्चित रहन्छ मान्छे ।
कहिले आँखामा बस्यौ, मैले आँखा चिम्लिनँ
कहिले मुटुमा बस्यौ, म मुटु धड्किनँ
प्यास तिमी घाँटीमा बस्यौ, म प्यासी कहिल्यै अन्जुली भरिनँ
……………….
हावा भएँ कहिल्यै छोइन्छु कि भनी
आकाश भएँ कहिल्यै हेरिन्छु कि भनि
भएन जिन्दगी जस्तो हुनुपथ्र्यो
…………..
बाटोमा मुटु झिकेर राखेँ कोही आउला भनेर
रहेछ भने ऊ आफ्नो मेरो उठाउला भनेर
के गीतका लागि आँसु नै सबैभन्दा सुहाउने विषय हो ? के प्रेमवियोग, कुण्ठा, गुनासो सिवाय अरु विषय गीतमा फिट हुँदैनन् त? यी प्रश्न मैले आफैलाई सोधें । सुनेका संगीतबद्ध प्रिय गीतहरु सम्झें ।
माधव प्रसाद घिमिरे- गाउँछ गीत नेपाली…., आजै र राति के देखें के सपना…., फुलको थुंगा बहेर गयो…।
इश्वर बल्लभ – दुईटा फूल देउरालीमा, हजार सपनाहरुको माया लागेर आउँछ, रत्न शमशेर थापा – ए कान्छा ठट्टैमा…., गारेटो त्यो गाउँको.., घुम्तीमा नआउ है…।
हरिभक्त कटुवाल – मलाई नसोध कहाँ दुख्छ घाउ, पोखिएर घामको झुल्का भरि संघारमा, डाली डाली फूल फुल्यो, जुन त लग्यो ताराले ।
राजेन्द्र थापा – ऋतुहरुमा तिमी, झीरमा उनिनु त्यो एउटा कुरा, पर लैजाउ फूलहरु, पोहोर साल खुसी फाट्दा ।
कालिप्रसाद रिजाल – आँखा छोपि नरोउ भनि, केही मीठो बात गर, बिहान उठ्ने बित्तिकै, वनै खायो डँढेलोले, झरेको पात झैँ भयो ।
दिनेश अधिकारी – तिमी जुन रहरले ममा फुल्न आयौ, तिमी यसै लजायौ, पहाडमा जाडो बढे, यो सम्झिने मन छ, रक्सी बेचेँ, सोचेजस्तो हुन्न जीवन, हिमालका कुरा गर्यौँ ।
दुर्गालाल श्रेष्ठ – फुलको आँखामा.., सयथरी बाजा ।
गुल्जार – तुझसे नाराज नही, तुम आ गए हो नूर आ गया है, आपकी आँखो में । आनेवाला पल जानेवाला है, ओ जिन्दगी युँ गले आ लगी है ।
सन्तोष आनन्द – एक प्यारका नघमा है, जब से मिले नैना ।
जवेद अख्तर – तुमको देखा तो ए खयाल आया, देखा एक ख्वाव तो ए शिलशिले हुए, ए तेरा घर ।
बब डिलन – ब्लोइङ इन द वाइन्ड, नोकिङ अन हेभन्स डोर ।
गीतको खराब स्रोता मैले प्रेम गरेका यी केही गीतमध्ये अधिकांश गीतहरुमा आँसु नै बेसी छ । तर, त्यो आँसुको कारक केवल प्रेम छैन । आँसु बाहेकका विषय भएका गीतहरु पनि आखिर सुख्खा छैनन् । हरिभक्त कटुवाल एक गीतमा भन्छन्,
दुःख वेदनामा रोइदिन्छ आँसु
खुसीको सिमामा झरिदिन्छ आँसु
तर, लजालु पहाडका गीतकार दुःख वेदनाका आँसुमा चुर्लुम्मै डुबे । डुब्दा डुब्दै यति डुबे कि उनले पाठकका लागि केही मोति नै टिप्न पनि सफल भए । गीतकार सन्तोष आनन्दले ‘अँधेरो से भि मिल रही रोशनी है’ भनेझैँ । सायद त्यही भएर भोजराज शर्मा नादिरले भनेका होलान्, ‘अमृतका गीतहरु एकान्तमा, सित्तल छहारीमा पल्टिएर जीवनको गहिरो सास लिँदै पढ्दा असली आनन्द दिने खालका छन् ।’
छैन एउटै आकार छैन, मेरो पानी जीवन
होइन तिम्रो मात्रै होइन, मेरो बाटो जीवन
मेरो पुग्नु दूर कतै इन्द्रेणीको रङ्ग छुँदै
फैलनु छ मनसम्म मनदेखि मन हुँदै
आँसु, आँसु र आँसुको नागबेली उक्लिएपछि कुइनेटोमा बसेर गीतकार मुस्कुराइरहेको पनि नभेटिने होइन । गीतकारसँग खुसी पेन्टिङ गर्ने यति कुशल कुची पनि छ भन्ने झल्को पाइसकेपछि म उनको अर्को संस्करण पर्खिन मन गरिरहेको छु ।
भएरै हजुर आधा घाम हिड्नु, भएरै आधा छायाँ म हिँड्छु
आधा रिस हजुर रिसाइराख्नु, आधा माया म फकाइराख्छु
………..
गाजल भएर तिम्रै आँखामा पायल भएर तिम्रै पाउमा
कमल बनेर फुलिरहुँ म तिम्रै ओठका दहहरुमा
….
किन कोइलि लाटी हुन्छे तिमि बोल्दा म के जानूँ
यो गीतसंग्रहले नेपाली गीती अम्बरमा सबैले देख्नेगरी उचाईं प्राप्त गर्ने सामथ्र्य राख्छ । गीतकार गीतलाई सर्जकले जबरजस्ती धकेल्ने र धकेलेरै सबैका आँखामा परोस् भन्ने दृष्किोणको ठीक विपरित दृष्टिकोणका समर्थक हुन् । उनले गोपाल योन्जनको ‘मेरो गीत मेरै प्रतिबिम्ब हैन’ लाई पूणर्शरीर उल्लेख गर्नुले उनमा आफ्ना गीतको सामथ्र्यमा पूणर्विश्वास छ भन्ने अर्थमा मैले बुझेँ । त्यो विश्वासका प्रमाणहरु उनका गीतका अंशहरुबाट टिपेर आवश्यक परेको बेला मल्हमको रुपमा प्रयोग गर्न सकिने दार्शनिक पंक्तिहरुको प्रचुरता पनि हुन् ।
हाँस्नु छ आफ्नै ओठहरुले, रुनु छ आफ्नै आँखाहरुले
हिँड्नु छ एक्लै जीवनको बाटो छोडे पनि छोड्नेहरुले
…………..
गुफा भई बाँच्ने मन पनि लाग्छ, अँधेरो देखेर डर पनि लाग्छ
लिङ्गो भई बाँच ए ! बाँस तिमी, बाँसुरी हुन त टुक्रिनुपर्छ
…………………..
धुलोमाथि पोखियो भने दूध पनि त हिलो भइजान्छ
पहिरोसँग मिसियो भने गुराँस पनि त डरलाग्दो हुन्छ
निजी अनुभूतिप्रेरित गीतहरुको संग्रह ‘लजालु पहाडहरु’मा पहिलो नजरमै फरक विषय देखिने गीतहरु पनि कुनाकाप्चामा बसेका छन् । मैले यस्तै विषय विविधताको अलि बढी अपेक्षा गरेको थिएँ ।
खर काट्दा खरसँगै औँला झरेको
उस्तै छन् पाइताला खिल परेको
ए दाइ ! खैत तिम्रो खुसीले बुढीआमाको चोली फेरेको ?
………………………..
दशैँको बेला आँशुलाई मासु सम्झेर पिउँदै छौँ ।
सरकारले मार्यो, कालले लगेन, हामी त जिउँदै छौँ ।
नेपाली साहित्यका मानक कथाकार सनत रेग्मीका विचारमा ‘लजालु पहाडहरु’का गीतजत्तिकै महत्वपूणर् गीतकार स्वयंले लेखेको यस संग्रहको अघोषित भूमिकाजन्य निबन्धहरु पनि छन् । दुई दशकदेखि गीत लेखिरहेका गीतकार ढकालले भूमिकामा आफू यतिन्जेल अप्रकाशित ओइलाइरहनु (उनकै शब्दमा)को इमानदार स्पष्टिकरणदेखि पूर्वीय र नेपाली साहित्यमा गीतको इतिहासको संक्षेपिकरण गरिदिएका छन् । गीतकार ढकालको वागीजस्तै लाग्ने ‘गीत पहिला हो, त्यसपछि क्रमशः संगीत र गायकी हो’ भन्ने दृढ मान्यता भूमिका पढेरै प्रष्ट हुन्छ । त्यहीँ उनले धुन पहिला बनाएर शब्द पछि खोज्ने र भ्युजको दौडमा स्याँ स्याँ गरिरहेको वर्तमान समयसँग आफ्ना गीतहरुको तादात्म्यता हुन नसक्दा हालसम्म ‘नरेकर्ड’ रहनुपरेको उल्लेख गरेका छन् ।
‘लजालु पहाड’माथि आफ्नो अनुभूति अद्भुत शैलीमा प्रकट गर्दै कवि रोशन खड्काले भनेका छन्, ‘मुन्टोलाई आकाशतिर फर्काएर कति माथिसम्म हेरेपछि गीतकारको उचाइ देखिन्छ ? मलाई थाहा छैन । केही छ भने बरु तिम्रा शब्दको लागि कुनै गहिरो संगीत र मधुर आवाजको गुनगुन, मीठो पर्खाइ मात्र छ ।’ रोशनले भनेझैं म पनि बोकेर हृदयमा ‘जलालु पहाडहरु’, पर्खिबसेको छु, संगीत र मधुर आवाजको गुनगुन । चाहे ती प्राप्त होउन् या नहोउन् ।