नेपालगन्जका वडा नम्बर १० र १२ एकै मन्चबाट बालविवाह मुक्त घोषणा
Saturday, July 10th, 2021, 7:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ असार
नेपालगन्ज उप-महागनरपालिकाका वडा नं. १० र १२ लाई एकै मन्चबाट बालविवाह मुक्त वडा घोषणा गरिएकोछ । यी दुइ वडा नेपालगन्जका पहिलो बाल विवाहमुक्त वडासमेत भएका छन् । २० प्रतिशत भन्दा कम बालविवाह भएको वडालाई बाल विवाहमुक्त वडा घोषणा गर्न सकिने निर्देशिका छ । घोषणाका लागि उपमहानगरपालिकाको बाल अधिकार समितिले आवश्यक मापदण्ड पूरा गरेको यकिन गरी बाल विवाहमुक्त घोषणा गर्न स्वीकृति दिने नियम छ । सोहीबमोजिम बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।
उपमहानगरको बाल अधिकार समिति संयोजक उपमेयर उमा थापा मगर रहेकी छन् । कार्यक्रममा उप मेयर थापाले वडा नम्बर १० र १२ का वडा अध्यक्षलाई घोषणा-पत्र प्रदान गरेकी थिइन् । उक्त घोषणपत्र वडाअध्यक्षद्वय विन्दुभुषण बस्नेत र बुद्धिसागर सुवेदीले वाचन गरेर वडालाई बाल विवाहमुक्त भएको घोषणा गरे ।
कार्यक्रममा वडाको सर्वेक्षण प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सामाजिक सरोकार सचेतन मञ्च (स्याक नेपाल) का बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले वडा नम्बर १० र पत्रकार शंकर खनालले १२ नम्बर वडाको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा म्बर १० मा १०.७१ र वडा नम्बर १२ मा १२.२८ प्रतिशत मात्रै बालविवाह छ ।
कार्यक्रममा बालविवाह मुक्त वडा घोषणाका लागि योगदान दिने विभिन्न कार्यालय, संघसंस्था तथा व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले सम्मानपत्र प्रदान गरेका थिए ।
घोषणासभामा बोल्दै श्रीवास्तवले बालविवाह बाँकेको एक प्रमुख सामाजिक समस्या भएको बताए । उनले बाँकेका अन्य स्थानीय तहले पनि बालविवाह न्यूनिकरणका लागि चासो दिनुपर्ने ठोस पहल गर्नुपर्ने बताए । नेपालगन्जका दुई वटा वडा बाल विवाहमुक्त घोषणा गरेर सुखद् सुरुवात भएको बताउँदै उनले यसले अन्य स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि हौसला दिने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले घोषणा गरिएका वडामा अझैपनि १२ प्रतिशतसम्म बाहविवाह हुनु चुनौतिपूणर् रहेको बताउँदै त्यसविरुद्धका प्रभावकारी कार्यक्रम लागू गर्न आग्रह गरेका छन् ।