बाँके राष्ट्रिय निकुञ्जको एक दशक पूरा
Saturday, July 10th, 2021, 4:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ असार
देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एक दशक पुरा भएको छ । २८ असार २०६७ मा बाघ संरक्षण क्षेत्रका रुपमा निकुन्ज स्थापना भएको थियो । स्थापनाको एक दशक पुगेको अवसरमा बाँकेका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले बितेका १० वर्षमा भौतिक तथा पर्यावरणीय पुर्वाधार निर्माणमै समय खर्चिएको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले देशकै कान्छो निकुञ्ज भएकाले केही समय जैविक पर्यावरण बचाउन समय खर्चिएर पर्यटकलाई स्वागत गर्न सक्षम भईसकेको बताए ।
जैविक विविधतामा बाँके निकुञ्ज देशभरमै उत्कृष्ट भएको उनको भनाइ छ । मुख्यतया बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुञ्जमा छोटो समयमै बाघको सँख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै शाहले निकुञ्जलाई पर्यटकीय हबका रुपमा बिकास गर्न प्रयास भईरहेको जानकारी दिए ।
नेपाल सरकारको १०० गन्तव्य सुचिमा ५७ औँ स्थानमा रहेको मध्य बाँके राष्ट्रिय निकुञ्जमा बाघ, चौका, हात्ति, हाब्रे, अजिङ्गर, सुन गोहोरो लगाएत ६१ स्तनधारी प्रजाती, ५१३ पन्छी प्रजाती, ४२ घस्रने प्रजाती र १२१ माछा प्रजाती छन् । कूल क्षेत्रफल ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको निकुञ्ज बाँके सल्यान र दाङ जिल्लाका भूभाग समेटीएको छ भने ३ सय ३० किलोमिटर भूभाग मध्यवर्ती क्षेत्रसँग जोडिएको छ ।