रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जना बाँके प्रहरीको फन्दामा
Sunday, July 11th, 2021, 1:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ असार
बाँके प्रहरीले रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ गरेको छ । लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नेपालगञ्ज-१ पुष्पलाल चोकबाट पक्राउ गरेको हो ।
पुष्पलाल चोकमा राप्ती गेष्टहाउसको कोठा नम्बर १० मा संरक्षित वन्यजन्तुको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दाङको घोराही उप-महानगरपालिका-४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका-१ का २१ वर्षीय रोबिन बुढा पक्राउ परेका हुन् । शनिबार राती पौने ९ बजेको समयमा पक्राउ परेका उनीहरुको साथबाट संरक्षित जनावर रेड पण्डाको छाला १ थान, भालुको पित्त जस्तो देखिने बस्तु ४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका ३ जना माथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना वा ५देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ । प्रहरीले बरामद सामानसहित तीनै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा पठाएको छ ।
यससँगै बाँके प्रहरीले असार महिनामा मात्रै चरीबाघ, चितुवा छाला, रेड पण्डाको छाला र भालुको पित्त जस्ता संरक्षित र दुर्लभ वन्यजन्तुका अखेटोपहार तस्करीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।