ठेला व्यवस्थापनमा उपमहानगरको पहिलो काम, तर ढिलो सुरु
Sunday, July 11th, 2021, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ असार
नेपालगन्ज उप-महानगरपालिकाले ठेला पसल व्यवस्थापनका लागि पहिलो ठोस काम सुरु गरेको छ । नेपालगन्ज मेलिकल कलेजदेखि भेरी प्राविधिक शिक्षालय (बिटिएस) सम्मको बाटो छेउमा बनेको फुटपाथमाथि मिनि मार्केट निर्माणको काम अघि बढाएको हो । तर, आर्थिक वर्षको अन्तिममा आएर उक्त काम अघि बढाएको छ । केही दिनअघिदेखि सुरु भएको मार्केट निर्माणको काम अहिले हतारमा भइरहेको छ ।
नेपालगन्जमा अव्यवस्थित रुपमा ठेलामा सन्चालनमा रहेका पसलहरु एकत्रित गरी सन्चालन गर्न दिने उदेश्यले मिनि मार्केट बनाउन लागिएको हो । चालु आर्थिक वर्ष २०७७-७८ मा मुख्यमन्त्री रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत उप-महानगरपालिकामा आएको ३५ लाख रुपैयाँको बजेटबाट मार्केट निर्माण हुन लागेको हो । आर्थिक वर्षको ३ दिन मात्रै बाँकी रहँदा पनि पसलका लागि आवश्यक छाप्राको काम भइरहेको छ ।
उपमहानगरपालिकाका इन्जिनियर निमेश शर्माले यसै आर्थिक वर्षका आयोजनाको काम सकिसक्नुपर्ने बताए । ‘प्रदेश सरकारबाट आएको बजेट भएकोले यसै आर्थिक वर्षमा कार्यान्वयन गरिसक्नुपर्ने छ । सकेसम्म कार्यान्वयनको प्रयास गर्नेछौँ,’ शर्माले भने । शर्माका अनुसार मार्केटमा करिब ४० वटा पसलहरु राख्न मिल्नेगरि व्यवस्था गर्ने योजना छ ।
आर्थिक वर्षको अन्तमा आएर काम सुरु हुनुमा योजनाको प्रकृयामा समय धेरै खर्चिनु र कोरोनाका कारण काम प्रभावित हुनु रहेको शर्माले बताए । उनले कोरोनाको कारण भनेपनि प्रशासनले निर्माणका काम रोक्ने आदेश दिएको थिएन । कार्यान्वयनको ढिलाइने नै आर्थिक वर्षको अन्तमा आएर आयोजना सुरु भएको स्थानीवासीहरु बताउँछन् । इन्जिनियर शर्माले बचेका ४ दिनमा सबै स्टलहरु टिनले छाएर सकिने बताए ।
अव्यवस्थित ठेलालाई व्यवस्थित गरिने
नेपालगन्ज उप-महानगरपालिकाका उपमेयर उमा थापामगरले मिनि मार्केट निर्माणको काम चालु आर्थिक वर्षमा नसकिए आगामी आर्थिक वर्षमा क्रमागत योजनामा राखेर गर्न सकिने बताइन् । ‘यस वर्ष पूरै काम सकिँदैन होला । योजनालाई क्रमागतमा राखेर भएपनि पूरा गर्छौँ,’ उपमेयर थापामगरले भनिन् ।
थापाका अनुसार मार्केटमा नेपालगन्ज मेडिकल कलेज छेउछाउमा सन्चालित ठेला पसलहरु व्यवस्थित गरिनेछ । ‘सहरमा सयौँको संख्यामा ठेला पसलहरु सन्चालनमा छन् । अहिले नै सबै पसल त व्यवस्थित गर्न नसकिएला । मेडिकल कलेज छेउछाउका पसलहरु व्यवस्थित गर्छौँ,’ उनले भनिन् । मार्केटमा पसल व्यवसाय राख्नेहरुका लागि लाग्ने शुल्क र राजस्व एवं मार्केट सन्चालनको कार्यविधि बनाइने उनले बताइन् । संरचना बनाइसकेपछि बाँकी प्रकृया अघि बढाइने उनको भनाइ छ ।
नेपालगन्ज उप-महानगरपालिकाको सडक व्यवस्थापनमा मुख्य चुनौतिको रुपमा ठेला पसलहरु पनि रहेका छन् । निर्वाचनका बेला जनप्रतिनिधिहरुको एउटा वाचा ठेला व्यवस्थापन पनि रहेको थियो । तर बितेका ४ वर्षमा त्यस सम्बन्धमा कुनै ठोस काम हुन सकेको थिएन । बन्न लागेको मिनि मार्केट ठेला व्यवस्थापनमा उपमहानगरले गर्न लागेको पहिलो ठोस काम हो ।
मेयर धवलशमशेर राणा बिटिएस रोडका साथै गणेशमान चोकदेखि भृकुटीनगर जाने बाटो छेउमा समेत बजार निर्माणको योजना रहेको बताउँछन् । उक्त क्षेत्रमा रात्रिकालिन बजारको निर्माणका लागि पहल गरिने मेयर राणा बताउँछन् । तर, सडक छेउमा नेपाल प्रहरीको स्वामित्वमो जग्गा भएकोले संरचना निर्माणका लागि अनुमतिको पहल गरिने उनको भनाइ छ । उप-महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा पनि रात्रिकालिन बजारको पूर्वाधार निर्माणका लागि पहल गरिने उल्लेख गरिएको छ ।
मेयर राणाले ठेला व्यवस्थापनका लागि व्यवसायीहरुलाई विकल्प दिनु अनिवार्य रहेको बताउँदै आएका छन् । ठूलो संख्यामा मानिसहरु ठेला व्यवसायबाट स्वरोजगार रहेको र उनीहरुलाई व्यवस्थित गर्न ठाउँको अभाव रहेको राणाको भनाइ छ ।
नाला बनेपछि मुहार फेरिएको सडक
केही वर्षअघिसम्म नेपालगन्ज मेडिकल कलेजदेखि बिटिएसम्म जानुपर्दा नाक छोपेर हिड्नुपर्ने अवस्था थियो । सडकसमेत जीणर् अवस्थामा थियो । एकिकृत सहरी विकास आयोजना अन्तर्गत उक्त नाली र सडक बनेपछि नालीमाथि सडकभन्दा फराकिलो फुटपाथ बनेको छ । उक्त सडकको केही वर्षअघिको रुपरङ पूरै बदलिएको छ । नालामाथि ढकन लागेर फुटपाथ बनेपछि फराकिलो बनेको उक्त क्षेत्रमा अहिले मिनि मार्केट निर्माणको काम भइरहेको छ । सडक छेउमा रुख बिरुवाहरु रोपेर उक्त क्षेत्र हरियालीमा समेत परिणत हुँदै छ ।
मार्केट निर्माणका लागि बन्ने संरचनाले रुखलाई कुनै असर नगर्ने उप–महानगरपालिकाका इन्जिनियर निमेश शर्माले बताए । ‘हामीले रुख जोगाउने उपाय अपनाएका छौँ । दुइवटा रुखबिचमा दुइवटा स्टल रहनेगरी संरचना बनाउँदै छौँ । रुखलाई कुनै असर पर्न दिँदैनौँ,’ शर्माले भने । पसल सन्चालनमा आइसकेपछि पनि पसल सन्चालकहरुलाई रुखको संरक्षण गर्न लगाइने उनले बताए ।