बस र जीप एक आपसमा ठोक्किएपछि…
Sunday, July 11th, 2021, 4:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २७ असार
दाङमा सवारी दुर्गटनामा ६ जना घाइते भएका छन् । घोराही-लमही सडक खण्ड अन्तर्गत मसोटमा यात्रुवाहक बस र जीप एकआपसमा ठोक्किँदा ६ जना यात्रु घाईते भएका हुन् ।
जिल्लाको घोराही उप-महानगरपालिका-३ मसोटको मोडमा आईतबार दिउँसो भएको उक्त दुर्घटनामा परि घाईते हुनेमा जीप चालकसहित सोही गाडीमा सवार यात्रुहरु रहेका छन् । भालुवाङबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ७०६ नम्बरको जीप र घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख २८०८ नम्बर यात्रुवाहक बस एकआपसमा ठोक्किएका थिए ।
घाईते हुनेमा प्यूठान ओखरकोट ३ का ८३ वर्षीय मंगलसिंह सुनार, सोही ठाउँका ५८ वर्षीय शेरबहादुर सुनार, प्यूठान खैरावती २ का ३९ वर्षीय ठगबहादुर बुढामगर, खैरावती ३ की १६ वर्षीया सर्मिला बुढामगर रहेको प्रहरीले जनाएको छ । त्यस्तै जीप चालक र अर्का एक जना पनि घाईते भएका छन् । सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । दुवै सवारी ठोक्किएपछि सवारी आवागमन केही बेर अवरुद्ध भएको थियो । प्रहरीको टोली पुगेर दुर्घटनाग्रस्त सवारी सडकबाट छेउँ लगाएसँगै आवागमन सुचारु भएको थियो ।