दाङमा कोरोना संक्रमण दर स्थिर, जोखिम कायमै
Monday, July 12th, 2021, 9:55 pm
Kalpristha
७० प्रतिशत पुगेको संक्रमणको दर अहिले घटेको भएपनि ३० देखि २० प्रतिशतमा स्थिर छ । कोरोना संक्रमणको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षपछि पुष्टि हुने कोरोना संक्रमितको संख्या हेर्दा जिल्लामा संक्रमणको दर ३० देखि २० प्रतिशतमै कायम रहेको देखिन्छ ।
लिलाधर वली
दाङ, २८ असार
दाङमा बैशाख–जेठको तुलनामा संक्रमणको कोरोना संक्रमित घटेपनि संक्रमणको जोखिम भने कायमै रहेको चिकित्सकहरु बताउने गरेका छन् । बजारमा दिनप्रतिदिन बढ्द गएको चहलपहलले कोरोना संक्रमण दर घटेपनि फेरी बढ्न सक्ने बताउने गरेका छन् । ७० प्रतिशत पुगेको संक्रमणको दर अहिले घटेको भएपनि ३० देखि २० प्रतिशतमा स्थिर छ ।
कोरोना संक्रमणको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षपछि पुष्टि हुने कोरोना संक्रमितको संख्या हेर्दा जिल्लामा संक्रमणको दर ३० देखि २० प्रतिशतमै कायम रहेको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । ‘वैशाख–जेठ महिनाको तुलनामा अहिले घटेको छ,’ उनले भने, ‘तर संक्रमणको दर २० प्रतिशत भन्दा तल झर्न सकेको छैन । पोजेटिभिटि दर स्थिर छ ।’
विश्व स्वास्थ्य संगठनले कोभिड पोजेटिभिटिको दर पाँच प्रतिशत भन्दा तल झर्न नसकेको अवस्थामा जोखिम कायमै रहने भनेको छ । कोभिडको पाजेभिटि दर २० प्रतिशत भन्दामाथि हुनुलाई जनस्वास्थ्यका हिसाबले संक्रमणको जोखिमकै अवस्था रहेको मानिने फोकल फर्सन चन्द बताउँछन् । ‘कोरोना परिक्षण गर्न आउने संख्यासँगै संक्रमण दरमा कमी त आएको छ । तर बजारमा बढ्दै गएको भिडभाडले जोखिम बढाउने देखिन्छ’, फोकल पर्सन चन्दले भने, ‘त्यसैले जोखिमबाट बच्न सबैले सावधानी अपनाउन आवश्यक छ ।’
दाङमा अहिले संक्रिय कोरोना संक्रमितको संख्या एक सय ३८ जना रहेको छ । उनीहरुमध्ये एक सय ८ जना घरमा, २२ जना अक्सिजनसहितको उपचारमा र आइसियूमा ८ जनाको उपचार भैरहेको छ । सोमबार थपिएका २० जना सहित बैशाख यता दाङमा संक्रमितको संख्या ८ हजार २ सय ८२ रहेका छ भने निको हुनेको संख्या ७ हजार ८ सय ४० पुगेको छ । त्यस्तै बैशाख यता कारोनाबाट मृत्यु हुनेको संख्या २ सय ४ रहेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत फिजिसियन डा. सुनिल केसी जिल्लामा कोरोना पोजेटिभिटि दर स्थिर भएको अवस्थामा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने बताउँछन् । ‘कोभिड पूर्णरुपमा निर्मुल नभएसम्म जोखिमकै अवस्था मान्न सकिन्छ । कोभिडका विरामीहरु अहिले पनि अस्पताल आइरहेका छन्,’ डा केसीले भने–‘संक्रमणको दर स्थिर रहेको अहिलेको अवस्थामा स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बेला छ । जोखिमलाई ख्याल नगरेर हेलचेकाई गरे संक्रमण फेरि बढेर जाने देखिन्छ ।’
नयाँ भेरियन्टको कोभिड फैलने जोखिम पनि रहेकाले कोरोना विरुद्धको खोपको व्यवस्था नै दिर्घकालिन समाधान हुने डा. केसीको भनाइ छ । ‘कोभिडको नयाँ भेरियन्ट आइरहेकोले संक्रमणको जोखिम लामो समयसम्म रहने देखिन्छ,’ उनले भने, ‘समुदायमा भ्याक्सिनको दायरा बढाउन सके जोखिम न्यून हँुदै जानेछ ।’