प्रदेशसभा सदस्य वादीलाई समाजसेवा पुरस्कार
Monday, July 12th, 2021, 10:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २८ असार
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’–२०७७ उमादेवी वादीलाई प्रaदान गरिने भएको छ । हाल सुदूरपश्चिम प्रदेश सभा सांसद रहेकी वादीले मानव अधिकार÷सामाजिक न्यायका लागि उल्लेखनीय योगदान गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले वादीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको समाजका केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार वादीलाई २०७८ मंसिर महिनामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा एक लाख १० हजार रुपैयाँ पुरस्कार राशी र सम्मानपत्रसहित पुरस्कृत गरिने छ ।
२०१८ साल फागुन ४ गते सल्यानको थापा गाउँमा जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो ।
विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसिले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे १० औं सुचिमा राखेको थियो । उनी निरन्तर रुपमा वादी समुदायको हकअधिकारका लागि संघर्षसमेत गर्दै आएकी महिला हुन् । उनलाई नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा सांसद बनाएको हो ।