लागूऔषधमा संलग्न मेडिकल संचालक पक्राउ
Monday, July 12th, 2021, 10:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २८ असार
दाङको तुलसीपुरबाट प्रहरीले लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा मेडिकल संचालकसहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर उप-महानगरपालिका-६ हात्तिखौवाचोक स्थित अनमोल आयुर्वेदिक मेडिकलका संचालक रुपेश शर्मासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
अनमोल आयुर्वेदिक मेडिकलका संचालक शर्मालाई प्रहरीले लागूऔषध मनोदिप औषधि निट्राभेट-१० बिक्री गरिरहेको अवस्थामा आइतबार साँझ मेडिकलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निट्राभेट-१० लेखेको एक सय १३ वटा ट्यावलेटसहित नगद १६ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रिजालले जानकारी दिएका छन् ।
त्यस्तैगरी अन्य दुईजनालाई तुलसीपुर उप-महानगपालिका-५ प्रगतिशिल टोलस्थित लागूऔषध ब्राउन सुगर खरिद गरी हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो तीन बजेतिर तुलसीपुर उप-महानगरपालिका-६ बरुवागाउँ निवासी सरोजकुमार भारती र वडा नम्बर ५ निवासी सोनाम योगीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रिजालले बताए । उनका अनुसार प्रहरीले सोनाम योगीले सरोजकुमार भारतीसँग लागूऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट प्रहरीले १९० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) बरामद गरिएको छ । पक्राउ परेका अभियुक्तलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पछिल्लो समय प्रहरीले लागूऔषधलाई नियन्त्रणका लागि जिल्लामा संक्रियता बढाएको छ ।