नेपालगन्जमा भानुभक्तको शालिक स्थापना गरिने
Tuesday, July 13th, 2021, 12:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ असार
नेपालगन्जमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिने भएको छ । नेपालगन्ज उप-महानगरपालिका वडा नं. २ न्यूरोडस्थित भानुभक्त चोकमा शालिक राखिने भएको हो । भानुभक्त चोक व्यवस्थापन तथा संरक्षण समितिको पहलमा शालिक राखिन लागिएको मंगलबार एक कार्यक्रम गरी जानकारी दिइएको छ । २०८औँ भानु जयन्तीको अवसरमा समिति र भेरी साहित्य समाजले आयोजना गरेको समारोहमा समितिका कोषाध्यक्ष शिवप्रसाद दाहालले आगामी भानु जयन्तीसम्म शालिक स्थापना भइसक्ने घोषणा गरे ।
समिति र लायन्स क्लबको सहकार्यमा शालिक स्थापनको योजना अघि बढेको लायन्स क्लब सिनर्जीका चार्टर अध्यक्षसमेत रहेका श्रेष्ठले जानकारी दिए । शालिक स्थापनाका लागि डिजाइनसमेत तयार भइसकेको र आर्थिक स्रोत जुटाउने काम पनि भइरहेको श्रेष्ठले बताए । चोक व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले चोकमा शालिक स्थापना हुँदा आदिकविप्रति सम्मान हुने बताए । उनले विभिन्न सामाजिक संघसंस्था र स्थानीय सरकारसँगको सहकार्यमा शालिक स्थापना गरिने जानकारी दिए ।
नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले पनि शालिक स्थापनामा सहयोग गर्न सकिने बताएका छन् । समारोहमा आमन्त्रित मेयर राणाले शालिक स्थापनाको योजनासहित आउन आग्रह गरे । ॅचोकमा शालिक राख्न पाए आदिकविप्रति सम्मान हुन्छ । त्यो योजनासहित आए नगरपालिकाले पनि सहयोग गर्छ,’ मेयर राणाले भने ।
समारोहमा सहभागी साहित्यकारहरुले आदिकविको शालिक स्थापना हुनु गौरवको कुरा हुने भन्दै खुसी व्यक्त गरेका छन् । भानुभक्तको शालिक स्थापना भएमा त्यो नेपालगन्जमा कविको पहिलो शालिक हुनेछ ।
यसैबिच आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती समारोहमा नेपालगन्जका साहित्यकार एवं समाजसेवीहरुले भानुभक्तको योगदानको स्मरण गरेका छन् । कार्यक्रममा सहभागी साहित्यकारहरुले भानुभक्तका कविताहरु वाचनसमेत गरेका थिए ।