नेपालगन्जका युवाहरूद्वारा बलात्कारविरुद्ध प्रदर्शन, सिडिओ र मेयरलाई ज्ञापन पत्र
Monday, July 12th, 2021, 10:14 pm
Kalpristha
आत्माराम वर्मा
नेपालगन्ज, २८ असार
बढ्दो बलात्कारका घटनाहरुलाई न्यूनीकरण गर्न माग गर्दै नेपालगञ्जका युवाहरूले जिल्ला प्रशासन कार्यालय बाँके र नेपालगञ्ज उप-महानगरपालिकाको कार्यालयलाई सोमबार ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनुअघि उनीहरुले बलात्कारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका थिए । चितवनकी सुजिता भण्डारीको मृत्युप्रकरण र अन्य हिंसाका घटनामा पीडितलाई न्यायको माग र अपराधीलाई कडा सजायको माग गर्दै युवाहरूले बिपी चोकदेखि जिल्ला प्रशासन कार्यालय बाँकेसम्म र्याली निकालेका थिए भने बलात्कारविरुद्धका सचेतनामूलक नारा लेखिएका पप्पलेटहरु प्रदर्शन गरेका थिए ।
ज्ञापन पत्रमा बलात्कार न्यूनीकरण गर्न सरकारले मृत्युदण्डको कानून बनाउनु पर्ने उल्लेख छ । पत्र ग्रहण गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बलात्कार र हिंसाजन्य घटना न्यूनीकरण गर्न सबै गम्भीर हुन जरुरी रहेको बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले युवाहरूको आवाज सरकार समक्ष पुर्याउने प्रतिबद्धता जनाए ।
प्रदर्शनमा सहभागी सरला बरालले अपाधिहरु कानुनको दायरामा नआउनु र हिंसाजन्य घटनाहरु बढ्दै जानुले नारीहरु थप असुरक्षित बनेको बताइन् । बाल अधिकारकर्मी साहिल अन्सारीले बलात्कार न्यूनीकरण गर्न सरकारले मृत्युदण्डको कानून बनाउनु पर्ने माग गरे । यस्तै अंकित श्रीवास्तवले सरकारले मानव अधिकार र संधि सम्झौताको आडमा अपराधीलाई जोगाउँदै आएको आरोप लगाए ।
-प्रशिक्षार्थी पत्रकार