क्षमताभन्दा बढी सामग्री बोक्ने ७६ सवारीसाधन प्रहरी नियन्त्रणमा
Tuesday, July 13th, 2021, 6:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २९ असार
दाङमा राम बहादुर कुरुम्वाङ्गले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको केही दिनपछि असार १७ गते सडकमा लामबद्ध टिप्परहरुको तस्बिर फेसबुकमा राख्दै लेखे, ‘दाङ घोराहीदेखि तापासम्मको १९ किलोमिटर पक्की सडक सिमेन्ट उद्योगको लागि चुनढुंगा ढुवानी गर्ने टिप्परको भारवहन गर्न नसक्दा एक महिनामै भत्किन सुरु भएको छ । समाधानको लागि सुझाव पाउँ ।’ कुरुम्वाङले उक्त स्टाटस लेखेपछि दाङमा प्रहरीले नदीजन्य सामग्री बोक्ने सवारी साधन चेकजाँचमा कडाई गरेको छ ।
दाङ प्रहरीले असार २८ गते सोमबारदेखि मंगलबार यो समाचार तयार पार्दासम्म क्षमताभन्दा बढी सामग्री बोक्ने र उत्खनन्मा प्रयोग भएका ७६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट एकैदिन खानी तथा नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्लामा एकैदिन नदीजन्य तथा खानीजन्य वस्तु ढुवानी गर्ने र उत्खनन्मा प्रयोग गरिएका सवारी साधन नियन्त्रणमा लिएको पहिलो घटना हो । प्रतिबन्ध लगाईएको नदीजन्य पदार्थ ढुवानी गरिरहेका र उत्खनन्मा प्रयोग गरिएका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चुनढुंगा तथा नदीजन्य पदार्थ उत्खनन् र ढुवानीमा प्रयोग गरिएका जेसीबी, ट्रयाक्टर, टिप्पर गरी ७६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । घोराही क्षेत्रबाट नियम विपरित नदीजन्य पदार्थ बोकेका तथा उत्खनन्मा प्रयोग भएका १८ वटा टिप्पर, ५ वटा ट्रयाक्टर र १ वटा जेसीबी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । त्यसैगरी तुलसीपुर क्षेत्रबाट २६ वटा टिप्पर, इलाका प्रहरी कार्यालय कमिरेचौरबाट १३ वटा टिप्पर र वडा प्रहरी कार्यालय लमहीबाट पनि १३ वटा टिप्पर नियन्त्रणमा लिएको प्रवक्ता रिजालले बताए ।
हाल नदीजन्य बस्तुको उत्खनन् र ढुवानीमा रोकसमेत लगाईएको छ । स्थानीय सरकारले आफ्नो आवश्यकता आधारमा आफ्नै साधन प्रयोग गरी समन्वय गरेर नदीजन्य वस्तुको प्रयोग गर्न सक्ने नियम बनाइएको भएपनि कतिपय सवारीसाधनले समन्वयन नै नगरी उत्खनन् गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सवारी साधनले नियम विपरित भारवहन क्षमताभन्दा दोब्बर माल राखेर समेत ढुवानी गरेको, ढुंगा तथा खानीजन्य बस्तु नियम विपरित उत्खनन् गरी ढुवानी गरेको तथा आवश्यक कागजात बिना मनपरी सवारी गुडाएकाले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता रिजालले बताए । ‘सवारीसाधन सञ्चालन गर्न, नदिजन्य पदार्थ उत्खनन् तथा बोक्नका लागि नियम छ । त्यही नियम अनुसार सञ्चालन गर्न आग्रह गरेका छौ,’ प्रवक्ता रिजालले भने, ‘हामीले सचेत गराउँदा पनि नमान्ने सवारीसाधनलाई नियन्त्रणमा लिएको हौँ ।’
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नदीजन्य पदार्थ उत्खनन्मा प्रतिबन्ध गरेको समयमा उठाउने गरेको र गाडीको क्षमताभन्दा बढी बोकेर गुड्ने गरेका कारण सवारी साधनलाई नियन्त्रणमा लिनुपरेका बताएका छन् । नियमभन्दा बाहिर गएर सामग्री बोक्दा सडकको अवस्था भत्कन सुरु गरेकाले पनि नियम कडाई गर्न प्रहरीलाई आग्रह गरिएको उनले बताए । जिल्लामा दैनिक करीव ३ सय टिप्परले सामग्री ढुवानी गरिरहेका छन् । ती सवारी साधनले नियमको पालना नगरर्दा सडक बिग्रन थालेका छन् ।