सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च, अब स्वास्थ्य संस्थामा चेकजाँच हुने
Tuesday, July 13th, 2021, 6:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ असार
हाल महामारीको रुपमा फैलिएको सरुवा रोग कोभिडका कारण विश्वभर मृत्यु हुने मानिसको संख्या यो समाचार तयार पार्दासम्म ४० लाख नाघिसकेको छ । बेलाबेलामा पृथ्विमा देखापर्ने केही सरुवा रोगको प्रकोप र यसबाट प्रभावित भएका व्यक्तिहरुको संख्याको अभिलेख राखिने भएकाले सरुवा रोगप्रति बढी सचेतना पाइन्छ ।
तर नेपालको स्वास्थ्य सेवा विभागको एक तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा अस्पतालमा मृत्यु भएकामध्ये ९३ प्रतिशत मानिसको नसर्ने रोगबाट मृत्यु भएको थियो भने अस्पतालमा भर्ना भएका ९२ प्रतिशत बिरामीहरु नसर्ने रोगका थिए । विश्वमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । यही अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले अब नसर्ने रोगलाई पनि आधारभुत स्वास्थ्य सेवा अन्तर्गत राखेर स्थानीय स्वास्थ्य संस्थाबाट ती रोगको उपचार सेवा सन्चालन गर्ने भएको छ । यही वर्षको साउन महिनादेखि स्वास्थ्य संस्थाहरुबाट नसर्ने रोगको पनि चेकजाँच सेवा सुरु गरिने भएको छ ।
मंगलबार नेपालगन्ज उप-महानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सो बारेमा जानकारी दिइएको हो । स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नेपालमा नसर्ने रोगीका बिरामीको संख्या बढ्दै गएकाले नेपाल सरकारले ७७ वटै जिल्लामा नसर्ने रोग चेकजाँच सेवाको सुरुवात गर्न लागेकोे जानकारी दिए ।
नेपालमा मृत्यु हुने कूल बिरामीको संख्यामा सबैभन्दा बढी मुटुसम्बन्धी बिरामी, दोस्रोमा मधुमेह र तेस्रोमा क्यान्सरका बिरामी रहेका छन् । साथै विश्वभरमा पनि सबैभन्दा बढी मुटुका बिरामीको मृत्यु हुने गरेको छ ।
कार्यक्रममा जनस्वास्थ्य निरिक्षक सरोज रिमालले नसर्ने रोगको जोखिम उच्च रहेकाले समय समयमा आफ्नो स्वास्थ्यको परीक्षण गर्नु पर्ने सुझाएका थिए । उनले नसर्ने रोगको बाट बच्न व्यक्तिगत खानपान, जीवनशैली र उमेर अनुसार आफ्नो कति तौल कति हुनु पर्छ भन्ने बारेमा ध्यान दिनुपर्ने बताए । अन्तकृयामा सहभागी करिब ५० जना व्यक्तिहरुको मधुमेह र ब्लडप्रेसर चेकजाँचसमेत गरिएको थियो ।