राप्तीसोनारीमा ८२ करोड ३८ लाखको बजेट पारित
Wednesday, July 14th, 2021, 5:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, २९ असार
राप्तीसोनारी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित भएको छ । गाउँपालिकाको नवौं गाउँ सभा तथा बजेट अधिवेशनले कुल ८२ करोड ३८ लाखको बजेटसर्वसम्मत रुपले पारित गरेको हो ।
अध्यक्ष लाहुराम थारुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम भने यसअघि नै सर्वसम्मत रुपमा पारित भएको थियो । गाउँपालिकाको असार १० गतेबाट नवौं गाउँसभा सुरु भएको थियो । उक्त सभामा उपाध्यक्ष धनिकुमारी खत्रीले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकोमा लामो छलफल तथा अध्ययन पश्चात मंगलबार सर्वसम्मत रुपमा पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।
गाउँपालिकामा संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानमार्फत बजेट प्राप्त भएको थियो । गाउँपालिकाले वडा नम्बर १ र २ मा २/२ करोड, वडा नम्बर ३, ४, ६, ८ र ९ मा १ करोड ७५ लाखका दरले, वडा नम्बर ५ र ७ मा १ करोड ८० लाख का दरले बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले आगामी वर्षका लागि सामाजिक विकास शाखा, शिक्षा, स्वास्थ्य लगायतका लागि ७ करोड ११ लाख ६६ हजार ९ सय रुपैयाँ, आर्थिक विकास शाखा, कृषि पशु लगायतका लागि ८० लाख, पुर्वाधार विकासमा ९ करोड ३२ लाख ३७ हजार ४ सय ५१, वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड, संस्थागत विकास सेवा प्रवाहमा १५ लाख बजेट विनियोजन गरेको छ । गुणस्तरिय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न शिक्षाका समग्र कार्यक्रमहरु सञ्चालन गर्न कुल २८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका क्षेत्रभित्र पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलाई उच्च प्राथमिकता दिएर समावेश गरिएको छ ।